आरोही निर्मल पुर्जाले भेटे सलमान खान, नेपाल आउन दिए निम्तो

एजेन्सी

शनिबार, १५ माघ २०७८, १४ : ४९
आरोही निर्मल पुर्जाले भेटे सलमान खान, नेपाल आउन दिए निम्तो

काठमाडौं । नेपालका चर्चित कीर्तिमानी आरोही निर्मल पूर्जा मगर ‘निम्स’ले बलिउडका सुपरस्टार सलमान खानलाई भेटेका छन् । कीर्तिमानी आरोही निर्मल पूर्जाले भारतको मुम्बईमा सुपरस्टार खानलाई भेटेका हुन् ।

भेटका क्रममा आरोही निर्मल पूर्जाले आफ्नो बायोग्राफी वियोण्ड पोसिबल सलमान खानलाई उपहारस्वरुप दिएका छन् । आफ्नो पुस्तक हस्तान्तरण गर्दै आरोही पूर्जाले सुपरस्टार सलमानलाई नेपाल आउन निम्तो समेत दिएका छन् ।

आरोही पूर्जाले उद्योगी विनोद चौधरीका छोरा एवं चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीमार्फत् सुपरस्टार सलमानलाई भेटेका हुन् । चौधरी ग्रुपका निर्देशक निर्वाण र सुपरस्टार सलमानबीच राम्रो सम्बन्ध रहेको बताइएको छ ।

सात महिनामा विश्वका १४ वटा अग्ला हिमाल चढेर विश्व रेकर्ड बनाइसकेका निर्मल पूर्जा पछिल्लो समय नेपाल चिनाउने अभियानमा छन् । विश्वका चर्चित सेलिब्रेटीलाई ल्याएर नेपालमा ठूलो कार्यक्रम गर्ने आरोही पूर्जाको योजना रहेको छ ।

सोही कार्यक्रममा सहभागिताका लागि आरोही पूर्जाले सुपरस्टार सलमान खानलाई पनि निम्तो दिएका हुन् । सलमानबाट उनले ग्रीन सिग्नल पाएका बताइएको छ । यसअघि उनले डिस्कभरि च्यानलको ‘म्यान भर्सेज वाइल्ड’का प्रस्तोता वियर ग्रिल्जलाई नेपाल बोलाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस