नारायणी पब्लिक स्कुलले पायो 'आईएसए 'अवार्ड

सफल खबर संवाददाता

शुक्रबार, १४ माघ २०७८, १४ : १४
नारायणी पब्लिक स्कुलले पायो 'आईएसए 'अवार्ड

चितवन । भरतपुरस्थित नारायणी ई पब्लिक स्कुलले ‘अन्तरराष्ट्रिय स्कुल अवार्ड’ प्राप्त गरेको छ । ब्रिटिस काउन्सिलले स्कुललाई वर्ष २०२१(२४ को ‘अन्तरराष्ट्रिय स्कुल अवार्ड’ प्रदान गरेको हो ।

विद्यालयले आज आयोजित पत्रकार सम्मेलनमार्फत उक्त अवार्ड बारे जानकारी दिएको हो । नेपालका ५३ सामुदायिक तथा संस्थागत विद्यालयहरुले उक्त अवार्ड प्राप्त गरेका छन् । बुधवार भर्चुअल कार्यक्रममार्फत शिक्षा बिकास तथा मानव स्रोत केन्द्रका प्रमुख चुडामणि पौडेल र ब्रिटिश काउन्सिलका दक्षिण एसिया क्षेत्रीय प्रमुख एमी लाईटफुटले विजेता विद्यालयहरु घोषणा गरेका थिए ।

विद्यालयका प्रवन्ध निर्देशक राजेश्वर खनालका अनुसार विद्यार्थीहरुले विश्व बजारमा सजिलैसँग प्रतिस्पर्धा गर्न सकुन भन्ने उद्धेश्यका साथ सात कार्ययोजना तयार गरि सन् २०२० मा नै ब्रिटिस काउन्सिलमा दर्ता गरिएको थियो । उक्त कार्ययोजनाले ब्रिटिस काउन्सिलबाट स्वीकृति पाएपछि कोभिड महामारीको अवस्थामा भर्चुअल तथा भौतिक उपस्थितिमा विद्यार्थीले कार्य सम्पन्न गरेको खनालले बताए ।

काउन्सिलले अन्तरराष्ट्रिय मापदण्ड अनुसारको क्रियाकलाप गर्ने विद्यालयलाई उक्त अवार्ड प्रदान गर्ने गर्छ । उक्त अवार्ड प्राप्त भएसँगै विद्यार्थीलाई पाठ्यक्रममा विश्वव्यापी बिषयबस्तु सम्मिलित गर्ने पद्धति प्रयोग अध्यापन गराइने भएकोले बेलायतको विद्यालयसँग सहकार्यको ढोका खुल्ने समेत उनले बताए ।

यस्तै उक्त अवार्डले शिक्षक तथा विद्यार्थीलाई अन्य देशको संस्कृति सिक्न ढोका खुला गर्ने खनालले जानकारी दिए । अवार्डले विद्यालयलाई आकर्षक पहिचान र नयाँ विश्वव्यापी संस्कृतिको सचेतना दिने समेत उनले जानकारी दिए ।

२०५१ सालमा ब्रिटिस र भारतीय सेनामा कार्यरत तथा भूतपूर्व सैनिकले स्थापना गरेको नारायणी पब्लिक स्कुल २०६३ सालदेखि शैक्षिक तथा सामाजिक व्यक्तिहरुले सञ्चालन गर्दै आएका छन् । विद्यालयले २०६४ सालदेखि उपत्यका बाहिर पहिलो पटक ‘कम्प्युटर साइन्स एण्ड टुरिजम’ तथा ‘होटक म्यानेजमेन्ट’ जस्ता प्राविधिक बिषय सञ्चालन गर्दै आएको छ । २०७७ सालदेखि विद्यालयले कानुन संकाय समेत सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस