कोरोना संक्रमित हुँदाहुँदै ओली सार्वजनिक कार्यक्रममा

सफल खबर संवाददाता

विहीबार, १३ माघ २०७८, २१ : ०७
कोरोना संक्रमित हुँदाहुँदै ओली सार्वजनिक कार्यक्रममा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमित भएको चौथो दिनमै सार्वजनिक कार्यक्रममा सहभागी भएको पाइएको छ। माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको भनिएका पूर्वप्रधानमन्त्री ओली चौथो दिनमा माघ १२ गते नै सार्वजनिक कार्यक्रमा सहभागी भएका हुन्।

एमालेको भ्रातृ संगठन युवा संघले माघ १२ गते ओलीनिवासनजिकै आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पुगेको भिडियो सार्वजनिक भएको छ। कार्यक्रममा एमाले नेता गोकुल बाँस्कोटा, युवा संघका इन्चार्ज महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेललगायत उपस्थित थिए।

कार्यक्रममा ओलीको पूर्णकदको तस्बिरसहितको ब्यानरमा शीघ्र स्वास्थ्यलाभको कामना श्रद्धेय अध्यक्ष केपी शर्मा ओली’ लेखिएको पाइएको छ। कार्यक्रम आयोजक युवा संघका अध्यक्ष पौडेलले ओली संक्रमित भएको भनी भाषण नै गरेका थिए।

एमालेले यसअघि माघ ११ गते नै ओली कोरोना संक्रमित भएको र चार दिनेदेखि बालकोटस्थित निवासमा आराम गरिरहेको भन्दै विज्ञप्ति जारी गरेको थियो। त्यसको भोलिपल्टै ओली कोरोना सम्बन्धी स्वास्थ्य प्रोटोकलको धज्जी उडाउँदै सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्।

प्रतिक्रिया दिनुहोस