दुई सय किसानलाई गाई बाँड्ने अभियान सुरु

सफल खबर संवाददाता

विहीबार, १३ माघ २०७८, २० : १५
दुई सय किसानलाई गाई बाँड्ने अभियान सुरु

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले २०० कृषकलाई अनुदानमा गाई बाँड्ने कार्यक्रम आजदेखि सुरु गरेको छ । पहिलो दिन १६ जना किसानलाई एक÷एक वटाका दरले अनुदानमा गाई वितरण गरिएको हो ।

पशुपालनमार्फत गरिबी न्यूनीकरण गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको हो । गाई वितरणका लागि नगरपालिकाको नवौँ नगरसभाले रु एक करोड विनियोजन गरेको थियो । नगरपालिकाको रु एक करोड र किसानको रु एक करोड गरी दुई करोडको लगानीमा २०० वटा दुधालु गाई वितरण गर्ने योजना रहेको छ ।  

नगरपालिकाले गाईसँगै गोठ सुधारका लागि रु १० हजार प्रदान गरेको छ । नगरपालिकाले प्रदान गरेको रु १० हजारमा किसानले रु १० हजार थप गरी रु २० हजारमा गोठ मर्मतको काम गर्नुपर्छ । किसानले कम्तीमा रु ८० हजार मूल्य बराबरको गाई खरिद गर्नुपर्ने हुन्छ । बिहान बेलुका गरी कम्तीमा १० लिटर दूध दिने र गाई पूर्णरूपमा स्वस्थ्य हुनुपर्ने पशु विकास अधिकृत शालिग्राम पौडेलले बताए।
नगरपालिकाले किसानको आर्थिक अवस्था मूल्याङ्कन गरी पशुपालनबाटै जीविका चलाउँछु भन्ने विश्वास भएका किसानलाई मात्र गाई वितरण गर्ने उनले जानकारी दिए । नगरपालिका प्रमुख नारायण वन र उपप्रमुख विमला दुवाडीले नगरपालिका परिसरमा किसानलाई गाई हस्तान्तरण गरेको हो। अनुदानमा गाई पाएपछि किसान उत्साहित भएका छन् ।

नगर प्रमुख वनले सुत्केरी पशुलाई भत्तापछि किसानलाई उद्यमी बनाउन गाई वितरण गरिएको बताए । विदेशबाट फर्किएर स्वदेशमै केही गर्न इच्छुक युवा र आर्थिक अभावका कारण पशुपालन गर्न नसकेका गरिब किसानको पहिचान गरी गाई वितरण गरिएको उनको भनाइ थियो । उपप्रमुख दुवाडीले नगरको गौरवको योजनाअन्तर्गत किसानलाई गाई वितरण सुरु गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस