सिटामोल आपूर्ति बढ्यो तर बजारमा समस्या कायमै

पत्रपत्रिकाबाट

सोमबार, १० माघ २०७८, ०८ : ०९
सिटामोल आपूर्ति बढ्यो तर बजारमा समस्या कायमै

काठमाडौँ । कोभिड–१९ सङ्क्रमणको दर बढेसँगै उपत्यकासहित देशभर सिटामोलको अभाव कायमै रहेको छ । आमउपभोक्ताको गुनासोपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सरोकारवालालाई बोलाएर सिटामोलको अभाव तत्काल समाधान गर्न निर्देशन दिएका थिए ।

उक्त निर्देशनपछि औषधि व्यवस्था विभाग, नेपाल औषधि उद्योग लिमिटेड र निजी उत्पादक उद्योगीले बिहीबारदेखि उपत्यकासहितका बजारमा सहज रूपमा सिटामोल उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए तर बजारमा अहिले पनि बजारमा सिटामोल पाइँदैन ।

उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले व्यवसायीको निजी स्वार्थपूर्तिका लागि अहिलेको परिस्थितिमा जुनसुकै बेला आवश्यक पर्ने सिटामोलको अभाव सिर्जना गरेको आरोप लगाए । उनले भने, “अहिले बजारमा सिटामोल अभाव होइन, औषधि उत्पादक उद्योगीले कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउन सरकारलाई बाध्य पार्ने खेल हो ।”

औषधि उत्पादकका अनुसार बजारमा सिटामोल अभावको मुख्य कारण भने विगतमा सरकारले निर्धारण गरेको यसको अधिकतम मूल्य नै हो । सरकारले सिटामोलको उपभोक्ता मूल्य प्रतिट्याब्लेट एक रुपियाँ निर्धारण गरेको छ तर उत्पादकका अनुसार यसको उत्पादन लागत नै एक रुपियाँ ४० पैसा पर्छ । सोही कारण सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडबाहेक अन्य निजी उत्पादकले सिटामोल उत्पादन गर्दैनन् । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस