सरकारले ४० लाख मोर्डना खोप ल्याउँदै, मंगलबारसम्म आइसक्ने

सफल खबर संवाददाता

आइतबार, ०९ माघ २०७८, १९ : ००
सरकारले ४० लाख मोर्डना खोप ल्याउँदै, मंगलबारसम्म आइसक्ने

काठमाडौं । सरकारले ४० लाख मोर्डना खोप ल्याउँदैछ । मोर्डना खोप मंगलबारसम्म आइपुग्ने सरकारले जनाएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि ४० लाख मोर्डना खोप आउने बताए ।

सरकारले विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत ४० लाख खोप खरिद गरेको हो । उक्त खोप १७ वटा जिल्लाका बालबालिका लागि दिइने विभागले जनाएको छ। यसअघि सरकारले ५७ वटा जिल्लामा मोर्डना र तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)मा फाइजर खोप चलाइसकेको छ । सरकारले १५ माघ देखि चार दिनका लागि खोप अभियान चलाउन विद्यालय खुल्ला गर्ने निर्णयसमेत गरेको छ ।

६० जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप दिइसकेकाले बाँकी अन्य जिल्लामा अब मोर्डनाको खोप दिइने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख सागर दाहालले बताए । ‘६० जिल्लामध्ये केही जिल्लामा मात्रै दोस्रो डोज दिन बाँकी छन् । अब बाँकी १७ जिल्लाका बालबालिकालाई खोप दिने योजना छ’, दाहालले भने ।

काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बागलुङ, रूपन्देही, बाँके, दाङ र कैलालीका बालबालिकालाई खोप दिइने छ । त्यसैगरी, सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप लगाउने तयारी गरेको छ । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको चौरासियाले जानकारी दिए ।