सुख्खा पहिरो झरेसँगै नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

सफल खबर संवाददाता

शुक्रबार, ०७ माघ २०७८, ०७ : ४८
सुख्खा पहिरो झरेसँगै नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

फाइल फोटो

चितवन । नारायणगढ–मुग्लिन सडकमा सुख्खा पहिरो खसेसगै यो सडकबाट हुने आवागमन ठप्प बनेको छ । इच्छाकामना गाउँपालिका–६ कालिखोला टोपोखोला पुल नजिक सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो । शुक्रबार बिहान साढे दुई बजेतिर सुख्खा पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पहिरो हटाउन सुरु भएको र ठूलो पहिरो खसेका कारण बाटो खुल्न समय लाग्ने प्रहरीले जनाएको छ । सो ठाउँमा बर्खायाममा पहिरो गएर पटक–पटक यातायात अवरुद्ध हुने गरेको थियो । तर टोपो खोला नजिक पुल बन्न लागेको र त्यसका लागि खनेको ठाउँबाट राति सुख्खा पहिरो खसेको हो ।

पहिरो हटाउन सुरु भए पनि ठूलो भएको कारण मध्यान्हसम्म लाग्न सक्ने बताईएको छ ।  नारायणगढ–मुग्लिन सडक संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक मार्ग हो । यो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो सडक बनाउने काम सम्प्न्न भएको छ ।

प्रतिक्रिया दिनुहोस