संयन्त्र बैठक स्थगित भएपछि किन जुटे प्रचण्ड–देउवा छलफलमा ?

सफल खबर संवाददाता

विहीबार, ०६ माघ २०७८, १८ : २५
संयन्त्र बैठक स्थगित भएपछि किन जुटे प्रचण्ड–देउवा छलफलमा ?

काठमाडौँ । सरकार सञ्चालन समन्वय संयन्त्रको बैठक स्थगित भएपछि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।

बैठक स्थगित गरिएपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादु देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले केहीबरेमा छलफल हुँदैछ। आजै अपरान्ह ४ बजे बस्ने भनिएको बैठक स्थगित गरिएपछि देउवा र प्रचण्डबीच स्थानीय तह निर्वाचनसहितका विषयमा छलफल हुन लागेको हो।

प्रचण्डको सचिवालयका अनुसार बैठकको पूर्वतयारीका लागि दुई नेता जुट्ने भएका हुन्। दुई शीर्ष नेताबीचको छलफलपछि मात्रै रामचन्द्र पौडेल नेतृत्वको संयन्त्र बैठक डाकिने भएको छ। प्रचण्डले मंगलबारको संयन्त्र बैठकमा स्थानीय तह निर्वाचन ६ महिना सारेर आगामी वैशाख जेठमा संघीय र प्रदेशको निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए। 

उनको यो प्रस्तावमा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनममोर्चा नेपालले पनि साथ दिएका छन् । तर गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसको संस्थापन इतर केही नेताहरुले उक्त प्रस्तावमा आपत्ति जनाएका छन्। 
 

प्रतिक्रिया दिनुहोस