उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परीक्षणमा रोक लगाउने विषयमा पुनर्विचार गर्ने

एजेन्सी

विहीबार, ०६ माघ २०७८, १४ : ०८
उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परीक्षणमा रोक लगाउने विषयमा पुनर्विचार गर्ने

एजेन्सी । उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परीक्षणमा रोक लगाउने विषयमा पुनर्विचार गर्ने जनाएको छ । उत्तर कोरियाले अमेरिकाविरुद्ध आफ्नो प्रतिरक्षा बलियो बनाउने र सबै अस्थायी रूपमा निलम्बित गतिविधिहरू पुनः सुरु गर्ने विषयमा मूल्याङ्कन गर्ने भएको हो ।

हिजो भएको पोलिटब्यूरो बैठकमा नेता किम जोङ उनले अधिकारीहरूलाई अमेरिकाको शत्रुतापूर्ण नीतिलाई कुशलतापूर्वक नियन्त्रण गर्न र अमेरिकासँग विश्वास निर्माण गर्ने उपायहरूमा पुनर्विचार गर्न निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाको शत्रुतापूर्ण नीति र सैन्य खतरा, खतराको रेखामा पुगेको भन्दै अब उपेक्षा गर्न नसकिने भन्दै नेता उनले दीर्घकालीन टकरावको लागि तयारी गर्न निर्देशन दिनुभएको छ ।

यसैबीच, दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको गतिविधिलाई नजिकबाट निगरानी गरिरहेको सियोलका संयुक्त चिफ अफ स्टाफका प्रवक्ता किम जुन–राकले बताउनुभएको छ ।

उत्तर कोरियाले जनवरी महिनामा क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएपछि अमेरिकाले थप केही प्रतिबन्ध लगाएको छ । अमेरिकाले पाँच उत्तर कोरियाली नागरिक र ब्यालिस्टिक मिसाइल सम्बन्धी कार्यक्रमलाई समर्थन गर्ने एक संस्थामाथि प्रतिबन्धको घोषणा गरेको थियो । जुन प्रतिबन्धलाई उत्तर कोरियाले मुर्खतापूर्णको संज्ञा दिएको छ ।

प्रतिक्रिया दिनुहोस