मतदान उत्साहपूर्ण

सबै क्षेत्रका मतपेटिका भरतपुरमा

विहीबार, २१ मंसिर २०७४, २१ : २५
सबै क्षेत्रका मतपेटिका भरतपुरमा


चितवन । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचन अन्तर्गत बिहीबार चितवनमा भएको मतदान शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । मतदानमा मतदाताहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । सबै क्षेत्रका मतपेटिका भरतपुरमा ल्याइसकिएको छ ।
चितवनका मुख्य निर्वाचन अधिकृत कूलप्रसाद शर्माका अनुसार, जिल्लामा ७० प्रतिशत हाराहारी मत खसेको छ । मतदानका लागि मतदाताहरु बिहान ६ बजेदेखि नै मतदानस्थल अगाडि लामवद्ध भएका थिए । साँझ पाँच बजेसम्म मतदाताहरु मतदान केन्द्रमा आउने क्रम जारी रह्यो । जिल्लाको तीन निर्वाचन क्षेत्रका एक सय ६१ मतदानस्थलमा रहेका चार सय आठ मतदान केन्द्रमा मतदान भएको थियो ।

पहिलोपटक मतदान 
भरतपुर महानगरपालिका १९, शारदानगरस्थित शारदानगर माध्यमिक विद्यालय मतदान केन्द्र क बाट आफ्नो जीवनमै पहिलोपटक मतदान गर्नुभएकी २७ वर्षीया ललिता गुरुङ निकै खुसी देखिनु हुन्थ्यो । मतदान केन्द्रमा बिहीबार बिहान भेटिनु भएकी गुरुङले यसअघि मतदाता नामावलीमा नाम दर्ता नगरेको कारण मतदान गर्न पाउनु भएको थिएन ।
‘पढाईको सिलसिलामा ६ वर्ष अष्ट्रेलियामा बसेँ’ गुरुङले भन्नुभयो, ‘नेपाल आएको पनि तीन वर्ष भयो, तर नाम दर्ता नगरेकोले अहिले पहिलोपटक भोट हालेँ । नर्भस हुन्छु कि भन्ने डर लागेको थियो, भइन ।’ मतदानका लागि स्थानीय आमा समूहले पहिले नै सिकाएकोले आफ्नो भोट बदर नहुने उहाँले बताउनु भयो ।
सय नाघेकाबाट मतदान
चितवन क्षेत्र नम्बर दुई अन्तर्गत पर्ने नारायणगढस्थित बालकुमारी माध्यमिक विद्यालयको मतदान केन्द्र ख बाट बिहीबार भरतपुर २, क्षेत्रपुरकी एक सय १५ वर्षीया डल्लीमाया बसेलले मतदान गर्नुभयो । सहयोगीका साथमा ह्वीलचीयरमा आउनु भएकी बसेलले देशको उन्नति होस् भन्नुभयो । उहाँले गत बैशाख ३१ गते स्थानीय तह निर्वाचनको मतदान सोही केन्द्रबाट गर्नु भएको थियो ।
यसैगरी भरतपुर २, क्षेत्रपुरकै एक सय वर्षीय लीलाहरि पोखरेलले बालकुमारी मावि मतदान केन्द्र च बाट मतदान गर्नुभएको छ । उहाँलाई ह्वीलचीयरमा उहाँका छोरा अशोक पोखरलेले मतदान केन्द्रसम्म ल्याउनु भएको थियो । बालकुमारी ख केन्द्रबाट शारीरिक अपांगता भएका क्षेत्रपुरकै चिरन श्रेष्ठले पनि ह्वीलचीयरबाट मतदान गर्नुभयो ।
नौ सिटमा पञ्चानब्बे उम्मेदवार
चितवनमा तीन वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभाका लागि कूल ९५ जनाको उम्मेदवारी परेको छ । जिल्लामा मतदाताको संख्या तीन लाख ५४ हजार ३६ रहेको छ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर एकमा एक लाख १९ हजार ९ सय ९८ जना मतदाता रहेका छन् । क्षेत्र नम्बर दुईमा एक लाख आठ हजार दुई सय १९ र क्षेत्र नम्बर तीनमा एक लाख २५ हजार ८ सय १९ जना मतदाता रहेका छन् ।
निर्वाचन क्षेत्र नम्बर एकमा चितवनको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका रहेको छ । क्षेत्र नम्बर दुईमा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ७, १०, ११, १२ र २९ वडा समेटिएको छ । क्षेत्र नम्बर तीनमा  माडी नगरपालिका र भरतपुर माहानगरपालिकाको वडा नम्बर ६, ८, ९ तथा १३ देखि २८ नम्बर वडा रहेको छ । 

प्रतिक्रिया दिनुहोस