सिन्ती झरना जाने सिँढीको शिलान्यास (फोेटोफिचर)

विहीबार, २० बैशाख २०७५, १८ : ५०
सिन्ती झरना जाने सिँढीको शिलान्यास (फोेटोफिचर)

चितवन । कालिका नगरपालिका वडा नं. ९ र १० को सिमानामा रहेको पर्यटकीय क्षेत्र सिन्ती झरना जानको लागि सिँढी निर्माण गर्ने कार्यको बिहीबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । कालिका नगरपालिकाको आर्थिक सहयोग र नेपाली सेना, सशस्त्र प्रहरी तथा जनपद प्रहरीले श्रमदान गरी बाटो निर्माण गर्ने भएका छन् । शिलान्यास कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभाका सदस्य घनश्याम दाहाल, विशिष्ट अतिथि सिंहनाथ गण शक्तिखोरका प्रमुख प्रेम हमाल, कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले संयुक्त रुपमा बाटोको शिलान्यास गरेका हुन् ।

बाटोको शिलान्यास गर्दै प्रदेश सभाका सदस्य दाहालले चितवन देशकै तेश्रो पर्यटकीय गन्तव्य रहेको भन्दै सौराहा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाईलाई लम्ब्याउन यस्ता झरना एवम् उपर्दाङगढी तथा सिराइचुली लगायतका मनमोहक क्षेत्रले सहयोग पु¥याउने बताउनु भयो । यस क्षेत्रमा बस्दै आएका चेपाङ जातिको रहनसहन, भेषभुषा, कला, संस्कृतिलाई समेटेर सौराहा–सिन्ती झरना–उपर्दाङगढी–सिराइचुलीलाई जोडेर नयाँ पर्यटकीय गन्तव्यको विकास गर्नु अहिलेको आवश्यकता रहेको समेत उहाँले बताउनु भयो ।

कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले कालिका नगरको पहाडी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा र समथर भूभागलाई कृषि क्षेत्रको रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको बताउनु भयो । नगरपालिकाले सिन्ती झरना, चित्राम झरना, नाग दह, चमेरे गुफा, कालिका मन्दिर लगायतका ऐतिहासिक र पर्यटकीय क्षेत्रलाई पर्यटकीय संरक्षण क्षेत्र घोषणा गरेको उहाँले जानकारी दिनुभयो । त्यस ठाउँका अतिरिक्त भीमवली मन्दिर, उदयपुर फन पार्क लगायतका क्षेत्रलाई समेत पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य रहेको श्रेष्ठले बताउनु भयो । पहिलो चरणमा सिन्ती झरनालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न शुरुमा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको भन्दै उहाँले क्रमशः काम अगाडि बढाउने सन्दर्भमा आवश्यक बजेट बिनियोजन हुने बताउनु भयो ।

सडक यातायातको सुविधा नहुँदा ओझेलमा परेको सिन्ती झरना लगायत विभिन्न पर्यटकीय एवम् धार्मिक स्थलको विकास र प्रवद्र्धन गर्न नगरपालिका सधैँ प्रतिवद्ध रहेको उहाँले बताउनु भयो । यस नगरपालिकाको काखमै रहेको उपर्दाङगढी र सिराइचुलीलाई समेत जोडेर चेपाङ भेषभुषा, रहनसहन र उनीहरुको कला, संस्कृतिलाई समेट्दै नयाँ पर्यटकीय गन्तव्य बनाउन नगरपालिकाले काम थालनी गरिसकेको उहाँले जानकारी दिनुभयो । बाटो बनेपछि आन्तरिक र बाह्य पर्यटकलाई झरना अवलोकन गर्न आउन सहज हुने उहाँले बताउनु भयो ।

नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका अतिरिक्त नगरपालिकाका हरेक वडाका बासिन्दाहरुले झरना जाने बाटो बनाउन श्रमदान गर्ने बताउँदै नगर प्रमुख श्रेष्ठले यही जेठ मसान्तसम्म बाटो निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनु भयो । बाटो निर्माण सम्पन्न गरिसकेपछि झरनालाई व्यवस्थित बनाउने काम थालनी गर्ने उहाँले जानकारी दिनुभयो ।

बाटो शिलान्यास कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि जयचन्द्र प्रसाद चौधरी, नेपाली कांग्रेसका वीरबहादुर थापा, नेकपा माओवादी केन्द्रका रामध्वज डल्लाकोटी लगायतले कालिका नगरपालिका क्षेत्रका विभिन्न ऐतिहासिक र पर्यटकीय क्षेत्रलाई समेटेर पूर्वाधार विकास गर्न लागेकोमा नगरपालिकालाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा कालिका वडा नं. ४ का अध्यक्ष कृष्णकुमार श्रेष्ठ, वडा नं. ९ का अध्यक्ष हेमबहादुर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


भरतपुरबाट २४ किलोमिटर पूर्वमा र टाँडी बजारबाट १८ किलोमिटर उत्तरमा रहेको यो झरना पुग्न शक्तिखोरहुँदै दोगरासम्म मोटरमा जान सकिन्छ । शक्तिखोर–सिद्धि सडकखण्ड अन्तर्गत दोगराबाट साढे २ किलोमिटरको दुरीमा रहेको सिन्ती झरना पैदल हिँडेर ४५ मिनेटमा पुगिन्छ । बाह्रै महिना सफा पानी झर्ने यो झरना ३५ मिटर अग्लो छ ।

 

प्रतिक्रिया दिनुहोस