आजदेखि बजारमा २ रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा

सफल खबर संवाददाता

शुक्रबार, ३० पुस २०७८, ११ : ५६
आजदेखि बजारमा २ रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा

काठमाडौं । आजदेखि बजारमा २ रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार २ रुपैयाँको सिक्का शुक्रबारदेखि प्रचलनमा ल्याउन लागेको हो ।

साविककै वृत्ताकार र सुनौलो रंगमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले आजबाट चलनचल्तीमा ल्याउन लागिएको टक्सर विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले हालै मात्र १ र २ रुपैयाँ दरका सिक्का छापेको थियो । राष्ट्र बैंकका अनुसार बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला रहेको जनाएको छ । नयाँ सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Rs. TWO र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको छ ।

सिक्काको बीच भागमा सात प्रदेश खुल्ने गरिएको नेपालको नक्सा र नक्साको ठिक माथिपट्टि दायाँतर्फ फरक क्षमताका व्यक्तिहरुका लागि स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको रहेको सूचनामा जनाइएको छ ।

यस्तै सिक्काको पछाडिपट्टि वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेको छ। आठ थोप्लासहितको वृत्ताकार चित्र रही सो भित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म र गधाको आकृति छ ।

सिक्काको बीच भागमा जानकी मन्दिरको आकृति र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकारी मन्दिर लेखिएको छ । सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस