चितवन महोत्सव दुई दिन चल्ने

सफल खबर संवाददाता

सोमबार, २६ पुस २०७८, १८ : ३४
चितवन महोत्सव दुई दिन चल्ने

चितवन । कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको संक्रमण बढ्दै गएकोपछि चितवनमा मेला महोत्सव सञ्चालनमा कडाइ गरिएको छ । 

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको नेतृत्वमा सोमबार भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसिसिएमसी) र सर्वदलीय सर्वपक्षीय बैठकले जारी चितवन महोत्सव दुई दिन चल्न दिने र अरू महोत्सव रोक्ने निर्णय गरेको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा चितवन महोत्सव आइतबारदेखि नारायणी नदी किनारमा सुरु भएको हो । चितवन महोत्सव सुरु भइसकेकाले थप दुई दिन चल्न दिने र अरू महोत्सव सुरु गर्न नदिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए ।

‘चितवन महोत्सवलाई भोलि र पर्सीसम्म चल्न दिने र अरू महोत्सव सबै बन्द गर्ने निर्णय भयो’, उनले भने, ‘गृह मन्त्रालयले कडाइ गर्न सक्ने भन्ने शब्द रहेछ, त्यस हिसाबले भोलि र पर्सी चल्न दिऊँ न त भन्ने कुरा भयो ।’ गृह मन्त्रालयले सोमबार सार्वजनिक स्थानमा २५ जनाभन्दा बढीको संख्यामा भेला हुन नदिने निर्णय गरिसकेको छ ।   

सरकारले १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेसँगै जिल्लामा सञ्चालित र सञ्चालनको तयारीमा रहेका महोत्सवको विषयमा निर्णय गर्न सोमबार डिसिसिएमसीको बैठक बसेको हो । चितवनमा दुई ठूला महोत्सव एकै पटक हुँदैछ । १३औं संस्करणको चितवन महोत्सव आइतबारदेखि सुरु भएको हो । उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका हुन् ।

उद्योग वाणिज्य संघ रत्ननगरले मंगलबारदेखि ११औं संस्करणको रत्ननगर महोत्सव आयोजना गर्ने तयारी थियो । टिकौली चौरमा महोत्सवको सम्पूर्ण तयारी पुरा गरिसकिएको छ । पूर्वी चितवनकै खैरहनीमा पनि खिचरा महोत्सव गर्ने तयारी थियो । कोरोना महामारीले लामो समयसम्म प्रभावित बनेको यहाँको व्यापार व्यवसाय र पर्यटन गतिविधिलाई चलायमान बनाउन भन्दै महोत्सव आयोजना गरिएका थिए । तेस्रो लहरको कोरोनाको जोखिम बढेपछि भिडभाड हुने गतिविधि बन्द गर्न कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सिसिएमसी०ले आइतबार सरकारलाई सिफारिस गरेको हो । शिक्षा मन्त्रालयले पनि १५ माघ सम्म विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस