‘ए’ डिभिजन लिगः सातदोबाटो र संकटाको बराबरी

सफल खबर संवाददाता

शुक्रबार, २३ पुस २०७८, १५ : १४
‘ए’ डिभिजन लिगः  सातदोबाटो र संकटाको बराबरी

काठमाडौं । सातदोबाटो युथ क्लब र संकटा क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा १-१ गोलको बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा शुक्रबार भएको आठौं चरणको पहिलो खेलमा सातदोबाटोका लागि सुसिल राईले गोल गरे भने संकटाका लागि जय गुरुङले बराबरी गोल गरे ।

सातदोबाटोले खेलको २३औं मिनेटमा सुसिलको गोल मार्फत खेलमा अग्रता लिएको थियो ।दीपकराज सिँह ठकुरीबाट संकटाका गोलकिपर राजाबाबु थापाले मुस्किलले बचाएको बल राम्ररी क्लियर गर्न नसक्दा २३औँ मिनेटमा सुसिलले सहज गोल गरे ।

यस्तै, ३२औं मिनेटमा संकटाका लागि जयले बाराबरी गोल गरे । फरवार्ड दिपेस आले मगरको ब्याकपासमा जय गुरुङले बक्सभन्दा बाहिर झन्डै २५ यार्डबाट सुन्दर फिनिस गरेका थिए ।

औसत प्रदर्शन गरेका दुवै टोलीले निर्धारित समयसम्म पनि गोल गर्ने थुपै्र अवसर सृजना गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा थप गोल हुन सकेन ।खेल सुरू भएको १०औँ मिनेटमा संकटाले अग्रता लिने सुन्दर मौका गुमाएको थियो । सुवास गुरुङको क्रस सातदोबाटोका गोल किपर अभिषेक बरालले पन्च गरेका थिए । सोही रिबाउन्ड बलमा संकटाका फरवार्ड फोडे फोफानाको प्रहार किपरले पुन बचाए र सातदोबाटोका मिडफिल्डर सुदीप गुरुङले क्लियर गरिदिए ।

यस्तै, २४औं मिनेटमा संकटाका मिडफिल्डर लक्ष्मण रुचालको कर्नरमा निरज बस्नेतको हेडर क्रसबार माथिबाट बाहिरिएको थियो ।सातदोबाटोका दीपकराज सिहको ब्याकपासमा ३०औं मिनेटमा सुदीपले बक्सनजिकैबाट हानेको प्रहार क्रसबारमा लागेर बाहिरियो ।

पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा नवप्रवेशी सातदोबाटोले लिगमा अपराजित रहेको संकटालाई हराउँदै तीन अंक जोड्ने उत्कृष्ट मौका खेर फाल्यो ।बराबरीसँगै संकटा आठ खेलबाट १४ अंकजोड्दै तालिकाको तेस्रो स्थानमा छ । सातदोबाटो समान खेलमा ९ अंक जोड्दै आठौं स्थानमा छ ।
आज हुने दोस्रो खेलमा नेपाल एपीएफ क्लब र जावलाखेल युथ क्लब प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस