मधेसमा शीतलहर शुरु, कठ्यांग्रिएर ३ जनाको मृत्यु

पत्रपत्रिकाबाट

विहीबार, २२ पुस २०७८, ०८ : ०८
मधेसमा शीतलहर शुरु, कठ्यांग्रिएर ३ जनाको मृत्यु

काठमाडौं । परालले छाएको सानो छाप्रो, जुन शीत र हावा छल्न नसक्ने खालको छ। छाप्रोभित्र खिइसकेको पातलो सुकुल ओछ्याइएको छ। यो सिरहाको कल्याणपुर नगरपालिका–१ मटिअर्वाकी ६० वर्षीया पल्टीदेवी सदाको ओछ्यान हो।

गत वर्ष शीतलहरमा सोही ओछ्यानमा कठ्यांग्रिएर उनका पति पनेलालको मृत्यु भएको थियो। यसै ओछ्यानमा कठ्यांग्रिएर बुधबार बिहान पल्टीदेवीको पनि मृत्यु भयो।

शीतलहरसँगै चलेको पश्चिमी हावाका कारण बढेको चिसो थेग्न नसक्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरको पनि मृत्यु भएको छ।

यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ठाकुरको घरमै मृत्यु भएको हो। शीतलहर चलेसँगै बढेको चिसोले एक दिनमै प्रदेश २ का तीन जिल्लामा तीनजनाको मृत्यु भएको हो। कठ्यांग्रिएर मृत्युवरण गर्नुपर्ने अवस्था निम्तिन सक्ने भन्दै धेरैजना त्रासमा छन्।

हुस्सुले ढाकेको बिहानको शीतलहरमा लुगलुग काम्दै घरबाहिरभित्र गरिरहेका कल्याणपुर–१ का चन्देश्वर सदाको प्रत्येक जाडोयाम मरिने हो कि भन्ने त्रासमै बित्छ। आफ्नै गाउँका कैयन् मान्छेले चिसोले कठ्यांग्रिएर प्राण त्यागेको उनले प्रत्यक्ष देखेका छन्। तर, जति डर लागे पनि उनको घरमा ओढ्ने र लगाउने न्यानो कपडा छैन।

माथि खरले छाएको छाप्रोमा ओत लागेर चिसोको सामनाका लागि संघर्ष गर्नु उनको बाध्यता हो। पराल ओछ्याइएको भुइँमा उनको रात बित्छ। कल्याणपुरको अति विपन्न यस दलित बस्तीमा अरूको जस्तै ५० वर्षीय लटुु सदाका निम्ति पनि सिरक ओढेर मिठो निद्रा सुत्नु सपना मात्रै हो। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस