पुर्वी चितवनको चेपांग बस्ती छेरेबागंमा खानेपानीको चरम हाहाकार

घण्टौ लगाएर गाग्रोमा पानी ल्याउन बाध्य

प्रकाश सिग्देल

मंगलबार, २० पुस २०७८, १८ : २७
पुर्वी चितवनको चेपांग बस्ती छेरेबागंमा खानेपानीको चरम हाहाकार

चितवन । चितवनको कालिका नगरपालिका वडा नम्वर १० को छेरेबांग गाउँमा खानेपानीको हाहाकार भएको छ । गाउँ देखी २ किलोमिटर माथि पहाडको खोचमा रहेको मुहानबाट पाईपमार्फत ल्याईएको पानी १ वर्ष अगाडी आएको बाढी र पहिरोले मुहान र पाईप भत्काएपछी गाउँमा पानीको हाहाकार भएको हो । नगरपालिका भित्र भएर पनि विकट पहाडी गाउँ रहेको कारण बिकासका पुर्वाधार समेत पुग्न नसक्दा यहाँका स्थानियहरु ठुलो पिडामा रहेका छन् ।

पानीको अभाव भएपछि घण्टौ लगाएर गाग्रोमा पानी बोकेर खान बाध्य भएको स्थानियहरु बताउछन् । बिगत वर्षाैवर्ष देखिको यो समस्या समाधान हुन नसक्दा आफुहरुको जिवन झन जटिल बनेको स्थानिय दलबहादुर चेपागंले बताए ।

धेरै वर्ष अगाडी एउटा संस्था आएर बनाईदिएको खानेपानीको पाईप सबै बाढीले बगाएपछि आफुहरु खानेपानी अभावका कारण निकै ठुलो पिडामा रहेको उनि सुनाउँछन् । अभाव र विपन्नतामा रहेको आफुहरुको समुदाय पानीको अभावमा थप पिडामा परेको स्थानिय मानबहादुर चेपागंले बताए ।

चरम गरिबीमा रहेको यो समुदाय ६ महिना कोदो मकै र ६ महिना भोकै बस्नु पर्ने बाध्यतामा रहेको छ । पाखा रेखामा खोरिया फाँडेर गरिएको मकै कोदोले ६ महिनापनि खान नपुग्ने उनले सुनाए । पानीको अभाव भएका कारण तरकारी बाली समेत केहि उब्जाउनै नसकिएको उनले सुनाए ।

गाउँमा रहेको श्री राष्ट्रिय आधारभुत बिद्यालयका प्रधानाध्यापक बिश्वनाथ तामागंले पानीको अभावका कारण विद्यार्थीलाई पानी समेत खुवाउन नसकिएको बताए । भुकम्पले भत्किएको बिद्यालय पुनः निमार्ण प्राधिकरण मार्फत नयाँ भवन बनेपनि पानीको समस्या समाधानमा भने कसैले ध्यान नदिदा यो ठुलो समस्या भोग्नु परेको बताए ।

वडा नम्वर १० का वडाअध्यक्ष दिलबहादुर गुरुगंले आफ्नो वडामा ५०१ घरधुरी रहेको र सबै विकट भएका कारण यहाँ बिकास गर्न समस्या भएको बताए । गाउँगाउँ जान सडक बिस्तार सोलर खानेपानीको प्रबन्ध नगरपालिकाको बजेट मार्फत गरेपनि बाढी र पहिरोका कारण बाटो घाटो र खानेपानीमा क्षती पुग्दा छेरेबागं गाउँमा समस्या भएको उनले बताए ।

पानीको स्रोत नहुदाँ खाद्य बस्तु उत्पादन नभएकाले यहाँका समुदायलाई दैनिक जिवन कटाउन गाह्रो भएको गुरुगंले बताए । अहिले जाडो समय भएकाले चेपागं समुदायहरु थप पिडामा रहेका छन ।

गाउँमा खानेपानीको अभाव भएको थाहा पाएपछि आफ्नो नेतृत्वमा खानेपानी डिभिजन कार्यालय प्रमुखसंग परामर्श गरि त्यहाँका इन्जिनियर अमृत भण्डारी सहित आफु पुगेर खानेपानीको लागि आवश्यक काम थालेको मैयादेवी ट्रष्ट नेपालका महासचिव टंकनाथ पौडेलले बताए । अहिले डिभिजनको ३ लाख बजेटमा मर्मतको काम हुने र आगामी वर्षका लागी गुरुयोजना बनाएर मन्त्रालयबाट बिशेष बजेट मार्फत १०० घरधुरीका लागी घरघरमा धारा सहित पानीको प्रबन्ध गरिने उनले बताए ।

नगरपालिका भएर पनि निकै विकट रहेको यो ठाउँमा पुग्ने व्यवस्थित सडक समेत छैन् भने यहाँ सबै जसो चेपागं समुदाय रहेका कारण स्थानियको जिवन निकै जटिल रहेको छ ।