सुन तस्करी : हजारको लोभले यसरी डुब्छ लाखौँ

पत्रपत्रिकाबाट

शुक्रबार, १६ पुस २०७८, ०९ : ०३
सुन तस्करी : हजारको लोभले यसरी डुब्छ लाखौँ

काठमाडौं । कतार  एयरवेजको  क्यूआर  ६५० उडानबाट   त्रिभुवन   विमानस्थल   ओर्लिएका  सिराहाका  २१  वर्षीय  मोहम्मद  इजराइल  मियाँ  ५०  ग्राम  सुनसहित पक्राउ परेका छन् । चकलेटले भरिएको सुटकेसमा लुकाएर ल्याएको सुनको सिक्री भन्सार अधिकारीले  बरामद  गरे  ।  बुधबार  पक्राउ परेका मियाँमाथि भन्सार छली र अवैध सुन तस्करीको कसुरमा थप अनुसन्धान भइरहेको छ ।

यसअघि गत कात्तिक २९ गते फ्लाई  दुबईबाट  काठमाडौँ  आएका  भारतीय नागरिक ३२ वर्षीय मोहम्मद साहिद इब्राहिम मलद्वारभित्र लुकाएर ल्याएको  ३७९  ग्राम  सुन  बरामद  भएको थियो । इब्राहिमले धुलो बनाई प्लास्टिकमा  बेरेर  ल्याएको  सुनलाई  भन्सार  कार्यालयले  बरामद  गरेको  थियो  ।  उनीमाथि  थप  अनुसन्धान  भइरहेको छ । त्रिभुवन  विमानस्थल  भन्सार  कार्यालयका  अनुसार  पछिल्लो  एक  महिनामा  दुई  हजारभन्दा  बढी  यात्रु  आफूले  ल्याएको  सुनसहित  कारबाहीमा परेका छन् ।

भन्सार  छली  गरी  कमाउने  लोभमा लुकाएर ल्याएको सुनसहित पक्राउ  पर्दा  यात्रुले  लाखौँ  रुपियाँ  गुमाउनुका  साथै  कानुनी  झमेला  खेप्नुपर्ने हुन्छ । पछिल्लो एक महिनामा दुई  हजारभन्दा  बढी  यात्रु  कानुनी  कारबाहीमा परेका छन् ।त्रिभुवन  अन्तर्राष्ट्रिय  विमानस्थल  भन्सार  कार्यालयका  प्रमुख  महेश  भट्टराईका  अनुसार  घरायसी  प्रयोजनबाहेक  प्रत्येक  ग्राम सुनबापत ९५० रुपियाँ राजस्व तिर्नुपर्छ  ।

उनले यात्रुले  आफूले  लगाएका  ५०  ग्रामसम्म  सुनका  गहनामा  यस्तो  भन्सार  नलाग्ने  भए पनि कतिपयले यस सुविधाको दुरुपयोग गर्ने गरेको बताए ।  भन्सार  कार्यालयका  अनुसार  खाडी  मुलुकबाट  स्वदेश  फर्किने  अधिकांश यात्रु सुन तस्करको भरिया बन्ने  गरेका  छन्  ।  अवैध  रूपमा सुनसहित  पक्राउ  परेका  व्यक्तिमाथि  बिगोअनुसारको  जरिवाना  र  तीन  वर्षसम्मको कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ, गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस