इन्डो-नेपालको बलिउड फिल्ममा काम गर्दैछु: राजेश हमाल

एजेन्सी

बुधबार, १४ पुस २०७८, १२ : ४७
इन्डो-नेपालको बलिउड फिल्ममा काम गर्दैछु: राजेश हमाल

मुम्बइ । अभिनेता राजेश हमाललाई बलिउड फिल्ममा देख्न पाइने भएको छ । मंगलबार मुम्बइमा आयोजित एक कार्यक्रममा हमालले इन्डो–नेपाल प्रोजेक्टअन्तर्गत निर्माण हुने फिल्ममा आफूले अभिनय गर्न लागेको बताए ।

नेपाल र भारतको मित्रतालाई चित्रण गर्ने म्युजिक भिडिओ ‘चेहेरा’ सार्वजनिक कार्यक्रममा हमालले उक्त जानकारी दिएका हुन् । महाराष्ट्रका संचारमाध्यमले नेपाली स्टारको उक्त अभिव्यक्तिलाई महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका छन् ।

निर्माता राजेश चौधरीसँग मिलेर उक्त इन्डो-नेपाल प्रोजेक्ट गर्न लागेको जानकारी हमालले दिए ।निर्माता चौधरीले पनि निकट भविष्यमै हमाललाई लिएर फिल्म बनाउने तयारी भैरहेको बताए । ‘म कलाकार हुँ । सबै किमिसको फिल्म गर्न चाहन्छु । राजेशजी (राजेश चौधरी) र हामीले फिल्मको तयारी गरेका छौं । अन्य प्रोजेक्ट पनि गर्ने तयारीमा छौं । फिल्म मेरो पेशा हो । इन्डो-नेपाल प्रोजेक्ट हुनसक्छ’ उनले भने ।

सो अवसरमा हमालले मुम्बइको प्रशंसा गरे । ‘नेपाली फिल्ममा लाग्नुभन्दा पहिल्यैदेखि मुम्बइबाटै मेरो करिअर सुरु भएको हो’ हमालले भने, ‘मुम्बइ भाइब्रेन्ट सिटी हो । यहाँ आउँदा मलाई राम्रो ऊर्जा मिल्छ । यसपटक मुम्बइका सबै खानेकुरा चाखेँ, स्वादिलो लाग्यो ।’

कार्यक्रममा निर्माता राजेश चौधरीले नेपाल र भारतबीच सदियौंदेखि मित्रतापूर्ण सम्बन्ध रहिआएको बताउँदै हमाललाई लिएर निकट भविष्यमा फिल्म निर्माण गर्ने तयारी भएको बताए ।

कार्यक्रममा नेपाली मोडल नीति शाहले बलिउड फिल्म हेरेरै आफू हुर्किएको बताउँदै रणवीर सिंहबाट आफू प्रभावित भएको बताइन् । उक्त कार्यक्रममा नेपाल र भारतीय कलाकारहरुको संलग्नता रहेको म्युजिक भिडिओ चेहेराको लन्च गरियो । आशिष कूलकर्णीद्वारा स्वरबद्ध गीतमा नेपाल र भारतको मित्रताको चित्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस