दिल्लीमा बढ्यो कोरोना संक्रमण : स्कुल, कलेज र सिनेमा हल बन्द

एजेन्सी

बुधबार, १४ पुस २०७८, ०८ : ३१
दिल्लीमा बढ्यो कोरोना संक्रमण : स्कुल, कलेज र सिनेमा हल बन्द

एजेन्सी । दिल्लीमा कोभिड–१९ को बढ्दो संक्रमणलाई हेर्दै सार्वजनिक गतिविधिमा थप प्रतिबन्ध लगाइएको छ । दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै स्कुल, कलेज, सिनेमा घर, जिम, स्पा बन्द गरेको छ । त्यस्तै रात्रिकालीन कर्फ्युको समय पनि एक घण्टा बढाइएको छ । अब राति १० देखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका काममा हिँड्डुलमा रोक लगाइएको छ ।

लगातार तेस्रो दिन संक्रमण दर ०।५ भन्दा बढी रहेपछि दिल्ली सरकारले ‘यलो अलर्ट’अन्तर्गत केही प्रतिबन्धहरू लगाएको हो ।नयाँ निर्देशिकाअनुसार मेट्रो, बस, रेस्टुराँ ५० प्रतिशत सिट क्षमतामा मात्रै चलाइनेछ । एक महिना अगाडि मात्रै मेट्रोलाई शतप्रतिशत क्षमतामा सञ्चालनमा ल्याएको थियो । मल्टिप्लेक्स, बैंक्वेट तथा स्पोर्ट कम्पलेक्स बन्द रहनेछन् । अत्यावश्यकबाहेकका पसलहरू जोरबिजोर दिनका आधारमा सञ्चालन गरिने छ । पसलहरूलाई बिहान १० देखि बेलुका ८ बजेसम्म मात्रै खोल्ने अनुमति दिइएको छ ।

त्यस्तै, विवाह र अन्त्येष्टिमा २० जनाको सहभागिता मात्रै राख्न भनिएको छ । त्यसबाहेक सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिक र चाड पर्वको आयोजनाका नाममा गरिने जमघटमा प्रतिबन्ध लगाइएको छ । निजी क्षेत्रका कार्यालयमा ५० प्रतिशत कर्मचारी राखेर मात्रै काम गराउन निर्देश गरिएको छ । त्यस्तै, धार्मिक स्थलमा बाहिरी व्यक्तिको आवतजावतमा रोक हुनेछ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार दिल्लीवासीलाई गरेको सम्बोधनमा संक्रमणको गति बढ्दै गए पनि त्यसलाई लिएर नआत्तिन आग्रह गरेका छन् । उनले यस पटक संक्रमणबाट मानिसहरूमा गम्भीर समस्या नदेखिएको र सरकारले पनि आफ्नो तयारी पूरा राखेको जनाएका हुन् । दिल्लीमा ओमिक्रोन संक्रमितको संख्या १ सय ६५ पुगेको छ । भारतभर मंगलबार साँझसम्म संक्रमितको संख्या ६ सय ५३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस