प्रतिनिधि सभामा नयाँ नियमावली सम्बन्धी प्रतिवेदन पेस

सफल खबर संवाददाता

सोमबार, ०४ जेठ २०८३, १३ : ४४
प्रतिनिधि सभामा नयाँ नियमावली सम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । प्रतिनिधि सभामा नयाँ नियमावलीसम्बन्धी मस्यौदा प्रतिवेदन औपचारिक रूपमा पेस गरिएको छ। सोमबार बसेको बैठकमा गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।

प्रतिवेदनमाथिको छलफलका क्रममा सांसदहरूले संसदीय अभ्यासलाई थप प्रभावकारी, उत्तरदायी र कार्यमुखी बनाउनुपर्नेमा जोड दिएका छन्।

यस क्रममा युवराज दुलालले संसद् गम्भीर नीति निर्माण र निर्णयको थलो भएकाले यसलाई प्रभावकारी कार्यसम्पादन केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे। उनले संसदीय कामलाई व्यवस्थित बनाउने गरी स्पष्ट प्रावधान आवश्यक रहेको उल्लेख गर्दै सरकारलाई जबाफदेही बनाउने संरचना बलियो भएमा समग्र शासन प्रणालीमा सुधार आउने बताए।

त्यस्तै, नरेन्द्रकुमार केरुङले संसदीय समितिहरूलाई अझ प्रभावकारी बनाउने गरी नियमावलीमा प्रष्ट व्यवस्था आवश्यक रहेको बताए। उनले विधेयक तथा अन्य कार्यसूची छलफलका क्रममा सम्बन्धित मन्त्रीको अनिवार्य उपस्थिति सुनिश्चित गर्ने विषयमा स्पष्टता खोजे।

सांसद केरुङले संसदीय बहसमा प्रश्न उठाउने तथा संशोधन प्रस्ताव राख्ने प्रक्रियाका लागि पर्याप्त समय र अवसर सुनिश्चित गरिएको छ कि छैन भन्ने विषयमा पनि नियमावलीले स्पष्ट मार्गदर्शन गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रतिक्रिया दिनुहोस