नेपाल र सिसेल्सबीच द्विपक्षीय श्रम समझदारीको तयारी

सफल खबर संवाददाता

आइतबार, ११ पुस २०७८, १५ : २६
नेपाल र सिसेल्सबीच द्विपक्षीय श्रम समझदारीको तयारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सिसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल र सिसेल्सको द्धिपक्षीय हित र आपसी सम्वन्धबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरु लैजान गणतन्त्र सेसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले भेटका क्रममा धन्यवाद दिए । नेपाली कामदारहरु सिसेल्समा वैदेशिक रोजगारीका लागि पठाउन नेपाल सकारात्मक रहेको बताउँदै मन्त्री श्रेष्ठले द्विपक्षीय श्रम समझदारी (एमओयू) का लागि तयारी अघि बढाइने  बताए ।  सिसेल्स हेर्ने नेपाली राजदुतावास (प्रिटोरियां) दक्षिण अफ्रिकाको राय बमोजिम जेल सुरक्षाको लागि मात्रै नभएर प्रहरी सेवा र नीजि क्षेत्रमा हुने रोजगारी समेतलाई समेटेर द्विपक्षीय श्रम समझदारी अघि बढाउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो । 

मन्त्री श्रेष्ठले नेपालबाट वार्षिक कति कामदार लैजाने ? कस्तो खालको सीप तालिम आवश्यक पर्दछ ? न्युनतम योग्यता र भाषागत क्षमताका साथै न्युनतम पारिश्रमिक लगायत सेवा सुविधाहरुबारे छलफल गरी द्विपक्षीय श्रम समझदारी (एमओयू) गर्न सकिने बताएका थिए । कामदार छनोट, रोजगारी र स्वदेश फिर्ती लगायत विषयमा दुवै देशका उच्च पदाधिकारी सम्मिलित संयुक्त समिति गठन गरी टुंगो लगाउन उपयुक्त हुने उनको भनाइ थियो । 

राजदूत पिल्लेले सिसेल्स सरकार सुरक्षागार्ड बाहेक अन्य क्षेत्रमा पनि नेपाली कामदारहरु लैजान इच्छुक रहेको बताए । उनले खुला र उदार अर्थव्यवस्था भएको सिसेल्स नेपाली कामदारका लागि आकर्षक गन्तव्य हुनसक्ने बताउँदै सिसेल्स जान श्रमिकले आर्थिक लगानी गर्नु नपर्ने बताए ।