माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै, ३ बजे उद्घाटनसत्र

सफल खबर संवाददाता

आइतबार, ११ पुस २०७८, ०९ : ३०
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै, ३ बजे उद्घाटनसत्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ। राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने पार्टी स्थायी समितिको निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन गर्न केन्द्र समितिको बैठक बस्ने भएको हो।

प्रथम राष्ट्रिय सम्मेलन तथा आठौं महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनमा रुपान्तरण गरिएसँगै उद्घाटन–सत्र सरेको पार्टीले जनाएको छ। आज दिउँसो १ बजे हुने भनिएको उद्घाटन समारोह ३ बजेलाई सारिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

उनले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन अन्य दलका नेतालाई पनि आमन्त्रण गरिएको बताए। उनका अनुसार महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको छ।

माओवादी केन्द्रले सुरुमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने उद्देश्यले राष्ट्रिय सम्मेलनमात्रै गर्ने बताएको थियो। जसको लागि कुनै पनि दललाई नबोलाउने बताएको थियो।

पार्टी नेतृत्वसमेत परिवर्तन हुने भएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरिएको हो। पार्टी नेतृत्वको लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक्लो दौडमा छन्। यसै महाधिवेशनबाट पुनः बहुपदीय प्रणालीमा जाने तय गरेको माओवादीको महासचिव पदमा भने दर्जन बढी नेताहरुले आकांक्षा राखेका छन्।