‘कुनै पनि हालतमा संसद् विघटन हुन दिँदैनौं’

‘एमाले तेस्रो पटक संसद् विघटनको प्रयासमा सक्रिय’

पत्रपत्रिकाबाट

आइतबार, ११ पुस २०७८, ०७ : १८
‘कुनै पनि हालतमा संसद् विघटन हुन दिँदैनौं’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले तेस्रो पटक संसद् विघटनको प्रयासमा सक्रिय भएको आरोप लगाएका छन्। सरकारको नेतृत्वमा रहँदा दुईपटकसम्म संसद् विघटन गरेको एमाले अहिले प्रमुख प्रतिपक्षीका रुपमा फेरि पनि संसद् विघटनको खेलमा लागेको आरोप दाहालले लगाएका हुन्।

‘तर हामी त्यो प्रयास सफल हुन दिँदैनौं’, दाहालले भने, ‘हामी कुनै पनि हालतमा संसद् विघटन हुन दिँदैनौं।’ अहिलेको राजनीतिक संघर्ष जटिल र चुनौतीपूर्ण रहेको पनि उनले बताए। आइतबारदेखि हुन लागेको पार्टीको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा दाहालले अहिले पनि परिवर्तन र त्यसका उपलब्धिलाई उल्ट्याउने प्रयास भइरहेको बताए।

‘पहिलो पटकको संसद् विघटन सडकबाट बदर गरायौं। दोस्रो पटक कोभिड महामारीका कारण सडकमा उपस्थित हुने अवस्था थिएन। त्यसैले अदालतको पनि सहयोग लिएर बदर गराउन सफल भयौं’, दाहालले भने, ‘अहिले पनि परिवर्तनलाई उल्ट्याउने प्रयास भइरहेको छ।’

संसद्भित्र प्रमुख प्रतिपक्ष दल एमालेले गरेको सदन अवरोधलाई जात्राको संज्ञा दिँदै दाहालले भने, ‘संसद् अवरोधको कारण नै छैन। सदनमा माधव नेपाल देखिन भएन भन्ने मात्रै छ जबकि सर्वोच्च अदालतले ह्विप नलाग्ने फैसला गरिसकेको छ भने निर्वाचन आयोगले पनि दल दर्तालाई मान्यता दिइसकेको छ।’ एमालेले पार्टी ह्विप उल्लंघन गरेका कारण कारबाही गरिएका नेपाललगायतका सांसदको संसद्मा उपस्थिति रहेको कारण देखाउँदै संसद् अवरुद्ध गर्दै आएको छ।

एमसिसीमा जबर्जस्ती हुँदैन

माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी सहयोग परियोजना मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसिसी) मा जबर्जस्ती गर्न नहुने सुझाव दिएको बताएका छन्। ‘मैले नै प्रधानमन्त्रीलाई एमसिसीमा जबर्जस्ती गरेर हुँदैन भनेको छु। सबै दस्तावेज फेरि एकपटक हेरौं। कहाँकहाँ सुधार गर्न आवश्यक छ, त्यसको विषयमा समीक्षा गरौं भनेको छु’, दाहालले भने, ‘त्यसैअनुसार अध्ययन गर्न कार्यदल पनि गठन गरेका छौं।’ नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस