राष्ट्रिय सम्मेलनलाई सिधै महाधिवेशनमा लैजाने माओवादी केन्द्रको निर्णय

सफल खबर संवाददाता

शनिबार, १० पुस २०७८, १९ : ५४
राष्ट्रिय सम्मेलनलाई सिधै महाधिवेशनमा लैजाने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आइतबारदेखि काठमाडौंमा सुरु हुने भनिएको राष्ट्रिय सम्मेलनलाई सिधै महाधिवेशनमा लैजाने निर्णय गरेको छ। पेरिस डाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन नगरी आठौँ  महाधिवेशन गर्ने निर्णय गरेको हो। 
पार्टी स्थायी कमिटी बैठकपछि नेता हरिबोल गजुरेलले राष्ट्रिय सम्मेलनलाई सिधै महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको बताए। 

स्थायी कमिटी बैठकपछि पेरिस डाँडामा पत्रकारसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर पनि महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको बताए। माओवादीले राष्ट्रिय सम्मेलनमा नेतृत्व भन्दा बढी विचारको बहस गर्ने तयारी गरेको थियो। तर देशभरबाट आएका सुझाव, शुभकामना र कार्यकर्तामा देखिएको उत्साहलाई ख्याल गर्दै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको गजुरेलले नेपालखबरलाई बताए। एक नेताका अनुसार माओवादीले यसलाई आठौँ महाधिवेशन भन्ने भएको छ। स्थायी कमिटीको यो निर्णयलाई आइतवार बिहान ८ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गरिनेछ।

माओवादीको यसअघि शुक्रबार बसेको बैठकमा पदाधिकारी संख्या ५ बाट बढाएर १५ पुर्‍याउने प्रस्ताव आएको थियो। माओवादीमा अध्यक्ष पदका लागि अहिलेसम्म पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिने नेता देखिएका छैनन्। तर महासचिव र उपाध्यक्षसहितका पदमा नेताहरुबीच तीव्र प्रतिस्पर्धा छ। महाधिवेशनमा जाने निर्णयसँगै माओवादीले नयाँ कार्यकालका लागि नेतृत्व पनि चयन गर्ने छ।

प्रतिक्रिया दिनुहोस