चितवन । भरतपुर अस्पतालले मिर्गौलाको डायलासिस मेसिन कम भएपछि थप गरेको छ । अस्पतालले तीन वटा मेसिन थप गरी सेवा विस्तार गरेको हो । अस्पतालमा यसअघि नौ मेसिनबाट सेवा दिँदै आएकामा तीन थप गरी १२ वटा मेसिनबाट सेवा नियमित दिएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए । उनका अनुसार समितिले निर्णय गरेर थप तीनवटा मेसिन खरिद गरी जडान गरिसकिएको छ । पुस १ गतेदेखि नै नयाँ जडान गरिएका मेसिनबाट पनि सेवा सुरु भइसकेको उनले जानकारी दिए ।
अस्पतालमा डायलासिस उपचारका लागि आउने विपन्न बिरामीको रजिष्ट्रेशन र परीक्षण शुल्क मिनाहा गर्ने निर्णयसमेत समितिले गरेको छ । रजिस्ट्रेसन शुल्क मिनाहा पाउने बिरामीको डायलासिसको सिलसिलामा ब्लड सुगर, एस क्रिटिनाइन, सिबिसी र सोडियम पोटासिम परीक्षणसमेत निःशुल्क गर्ने निर्णय भएको अधिकारीको भनाइ छ ।
अस्पतालमा मेसिनको सङ्ख्या कम हुँदा बिरामीले लामो समय पालो पर्खनुपर्ने बाध्यता थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले मेसिन थप गरी नियमित सेवा दिन थालेपछि बिरामीलाई केही हदसम्म भए पनि सहज भएको बताए ।
उनले दैनिक चार चरणमा ३५ देखि ४० बिरामीको डायलासिस गराइरहेको जानकारी दिनुभयो । शनिबार दुई चरणमा डायलासिस गराउँदै आएको उनको भनाइ छ । मिर्गौला डायलासिस गराउनुपर्ने बिरामीले हप्तामा कम्तीमा एकपटक गराउनैपर्ने र बिरामीको अवस्था हेरी कसै कसैलाई दुईपटक गर्नुपर्ने उनको भनाइ छ । कतिपय बिरामीले निजी अस्पतालमा डायलासिस गराइरहेका छन् । प्राडा पौडेलले कतै पनि डायलासिस गराउन नपाएका बिरामीलाई प्राथमिकता दिएर सेवा दिँदै आएको बताए । कतिपय बिरामीले भरतपुर अस्पतालमा नाम लेखाए पनि निजीमा डाइलासिस गराउँदै आएका छन् ।
पौडेलका अनुसार अधिकांश डाइलासिसका बिरामीले भरतपुर अस्पतालमै सेवा लिन चाहन्छन् । यहाँ आउने सबै बिरामीलाई नियमित सेवा दिनका लागि ४० वटा मेसिन आवश्यक पर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०६ पुस २०७८, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशमै प्रथम
बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी
भरतपुर अस्पतालले बिमाको रकम नपाउँदा उपचारमा समस्या
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित