आफ्नो जिम्मेवारीलाई इमानका साथ पूरा गर्छु : सभामुख सापकोटा

सफल खबर संवाददाता

मंगलबार, २८ मंसिर २०७८, १२ : ४५
आफ्नो जिम्मेवारीलाई इमानका साथ पूरा गर्छु : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने बताएका छन । मंगलबार १५ औँ संघीय संसद सेवा दिवसको अवसरमा संघीय संसद सचिवालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले सभामुखको रुपमा आफूले पाएको जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिवद्धता जनाएका हुन । उनले आफूले संसदको प्रतिष्ठा र गौरवलाई माथि उठाउने प्रयत्न गर्ने भन्दै त्यसका निम्ति साथ दिन कर्मचारीहरुलाई आग्रह पनि गरे । आफूसँग काम गर्ने स्प्रिट रहेको उल्लेख गर्दै सभामुख सापकोटाले कर्मचारीहरुसँग रहेको विज्ञतालाई संयोजन गरेर काम गर्न सके संसदप्रति जनतालाई आशावादी बनाउन सकिने विश्वास व्यक्त गरे ।

उनले भने – ‘मलाई यो राष्ट्रले, मलाई इतिहासले र मलाई जनताले, मलाई १७५ जना प्रतिनिधिसभाका सदस्यहरुले वर्तमानमा राज्यका तीनवटा अंगमध्ये एउटा अंगको नेतृत्व गर्ने जिम्मेवारी दिनुभएको छ । त्यो जिम्मेवारीलाई पुरै निष्ठाका साथ, पुरै इमानका साथ पुरा गर्नेछु । त्यो पुरा गर्दै जाँदा मलाइ लाग्छ, हामी सबैको इज्जत, प्रतिष्ठा, गौरव माथि उठ्दै जान्छ । मेरो पहल र प्रयत्नमा तपाइहरुले साथ दिनुहुनेछ । मसित स्प्रिट छ । तपाइहरु सित विज्ञता छ । त्यो विज्ञता र स्प्रिट हामीले संयोजन गर्न सक्यौँ भने हामी जनतालाई आशावादी बनाउन सक्छौँ । चारैतिर अहिले निराशा छाइरहेको बेलामा, चारैतिर प्रश्न उठीरहेको बेलामा संघीय संसदबाट हामी एउटा शक्तिशाली सन्देश दिनसक्छौँ । जनतालाई आशावादी बनाउन सक्छौँ । यही दिशातिर अगाडी बढौँ ।’

सभामुख सापकोटाले संघीय संसद सचिवालयका कर्मचारीहरुलाई देशभक्तिको भावनाले काम गर्न पनि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस