ए डिभिजन लिग : संकटासँग पुलिस पराजित

सफल खबर संवाददाता

सोमबार, २७ मंसिर २०७८, १५ : १२
ए डिभिजन लिग : संकटासँग पुलिस पराजित

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबले नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा सोमबार भएको पहिलो खेलमा संकटाका लागि निरज बस्नेतले निर्णायक गोल गरे । लक्ष्मण रुचालले १८ औँ मिनेटमा कर्नरबाट गरेको प्रहारमा संकटाका डिफेन्डर निरज बस्नेतले हेडरमार्फत सुन्दर गोल गरेका थिए ।

उक्त गोलसँगै निरज लिगमा व्यक्तिगत तीन गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । सातदोबाटो युथ क्लबका अजयि मार्टिन्स र मछिन्द्रका सुनिल बलले यस अघि तीन –तीन गोल गरेका छन् । निरजले गरेको गोल लिगमा ५०औँ गोल हो ।

आज भएको खेलमा गोलका केहि अवसर सृजना गरेपनि पुलिसले स्कोरमा कन्भर्ट गर्न सकेन । पुलिसका लागि ११औं मिनेटमा रबि पासवनको पासमा तेज तामाङले हानेको प्रहार संकटाका गोलकिपर राजा बाबु थापाले बचाएका थिए ।

यस्तै, सुमन लामाले ४३औं मिनेटमा हानेको प्रहार संकटाका गोल किपरले रोकेका थिए । उक्त रिवाउन्ड बलमा रबिले गरेको प्रहार पुनः संकटाका डिफेन्डर निरजले क्लियर गरिदिएका थिए ।

जितसँगै संकटा ४ खेलबाट ८ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित पुलिस समान ४ खेलबाट ५ अंकसहित सातौं स्थानमा छ । पहिलो चरणमा हिमालयन शेर्पा क्लबसँग १–१ को बराबरी खेलेको संकटाले दोस्रो चरणमा फ्रेन्ड्स क्लबलाई २–१ गोलको नतिजामा पराजित गरेको थियो । यस्तै, तेस्रो चरणमा मनाङ मर्स्याङदी क्लबसँग २–२ को बराबरी खेलेको थियो

यस्तै, पहिलो चरणमा त्रिभुवन आर्मी क्लबसँग १–१ को बराबरी खेलेको पुलिसले दोस्रो चरणमा जावलाखेललाई १–० को नजिजामा हराएको थियो । तेस्रो चरणमा मा शेर्पासँग १–१ गोलको बराबरी खेलेको थियो ।आज हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज र फ्रेन्डस भिड्दैछन् ।

प्रतिक्रिया दिनुहोस