कांग्रेस महाधिवेशन : यी हुन् महामन्त्रीमा टिक्न नसकेका नेता

सफल खबर संवाददाता

शनिबार, २५ मंसिर २०७८, २१ : ०४
कांग्रेस महाधिवेशन : यी हुन् महामन्त्रीमा टिक्न नसकेका नेता

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केही नेताले आफ्नो उम्मेदवारी महामन्त्री पदमा भन्दै महाधिवेशन उद्घाटन अघि देखि दाबी गर्दै आएका थिए । तर, अन्तिम समयमा भने उनीहरु महामन्त्रीबाट सहमहामन्त्रीमा होइन सिधै केन्द्रीय सदस्य पदमा झरे । 

खासगरी संस्थापन पक्षबाट महामन्त्रीमा धेरैको आकांक्षा थियो । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाका विश्वासपात्रसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले महामन्त्रीमा बलियो दाबेदारी प्रस्तुत गर्दै आएका थिए । प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एनपी साउद, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की पनि आकांक्षी थिए ।  

सबै नेताले आफू महामन्त्रीको दाबेदार भन्दै प्रचार गरिरहेका थिए । प्रचार प्रसारमा एनपी साउद अग्रपंक्तिमा थिए । उनी सम्पर्क कार्यालय खोलेरै प्रचारमा लागेका थिए । तर, देउवा समूहबाट प्रकाशशरणले बाजी मारे । विश्वप्रकाशले देउवा प्यानलबाट ठाउँ नपाएपछि सभापतिमा उम्मेदवारी दिएका प्रकाशमान सिंह समूहबाट महामन्त्रीको उम्मेदवार बनेका छन्। अरु आकांक्षी भने अससन्तुष्ट हुँदै केन्द्रीय सदस्यमा झरेर चित्त बुझाउन बाध्य भएका छन् । 

अर्कोतिर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट गगन थापा, डा. मिनेन्द्र रिजाल, धनराज गुरुङ, चन्द्र भण्डारी र दीपक गिरीले महामन्त्रीमा दाबी गरेका थिए । थापा र रिजालले सभापतिका उम्मेदवार शेखर कोइरालाको टिमबाट बाजी मारेका छन् । धनराज र चन्द्र उपसभापतिमा उक्लिएका छन् । 

कृष्ण सिटौला समूहबाट महामन्त्रीका दाबेदार प्रदीप पौडेल भने सबैलाई आश्चर्यमा पार्दै देउवा टिमको संयुक्त उम्मेदवार बनेका छन् । देउवा टिमका सिनियरलाई उछिन्दै प्रदीप संस्थापनको महामन्त्री बन्न सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस