चितवन । बाढीले बगाएर भारत पुगेको एउटा गैँडा नेपालतर्फ आएको मौका पारेर उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जतर्फ ल्याइँदैछ । भारतीय सीमा क्षेत्र विनय त्रिवेणी गाउँपालिका–६ बाट गैँडालाई डाट गरेर बेहोस बनाई आज चितवनतर्फ ल्याउँदै गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार अन्दाजी सात÷आठ वर्षको भाले गैँडालाई उद्धार गरी ल्याइएको हो । बाढीका कारण भारत पुगेको सो गैँडा यही मङ्सिर १५ गते नेपालतर्फ आएको थियो । नेपालमा उखु, तरकारीलगायत खाद्यान्न बाली खान पल्किएको गैँडा यसअघि तिहारको समयमा केही दिन सोही क्षेत्रमा देखिएको थियो । श्रेष्ठका अनुसार त्यतिबेला नियन्त्रणमा लिन खोज्दा भागेर भारततर्फ गएको थियो ।
“नेपालतर्फ आएको मौका पारेर गैँडालाई चितवन ल्याउन लागिएको हो”, श्रेष्ठले भने, “विसं २०७४ वा त्यसअघिका बाढीमा यो गैँडा बगेर भारत पुगेको हो ।” श्रेष्ठकै नेतृत्वमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक कर्मचारीसँगै सुरक्षाकर्मीले गैँडालाई उद्धार गरेका हुन् । सो क्रममा छ वटा हात्ती परिचालन गरिएको थियो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडालाई निकुञ्जको पूर्वी क्षेत्रमा छाडिँदैछ । गैँडाको सङ्ख्या कम भएको क्षेत्रमा छाड्न लागिएको हो । सुस्ताको उखुबारीमा गैँडा चरेको देखेपछि स्थानीयवासीले निकुञ्जलाई खबर गरेका थिए । सन् २०१७ र २०१८ मा नेपालले भारतका विभिन्न ठाउँमा पुगेका १० वटा गैँडा फिर्ता गरेको थियो । भारत पुगेर आफैँ नेपालतर्फ फर्किएका तीन गैँडालाई पनि सीमा नजिकैबाट डाट गरेर चितवन राष्ट्रिय निकुञ्ज ल्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० मंसिर २०७८, १८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो
आठ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २० गैँडा मरे
गैँडाको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो
चितवनमा गैँडाको आक्रमण बढ्दो : दुई महिनामा ६ जनाले गुमाए ज्यान