स्पेनिस ला लिगा: रियल मड्रिड विजयी, एट्लेटिको र बार्सिलोना पराजित

सफल खबर संवाददाता

आइतबार, १९ मंसिर २०७८, ११ : ३९
स्पेनिस ला लिगा: रियल मड्रिड विजयी, एट्लेटिको र बार्सिलोना पराजित

काठमाडौं । रियल म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि दौड थप बलियो बनाएको छ । शनिबार राति भएको खेलमा रियलले बलियो प्रतिद्वन्द्वी रियल सोसिडाडलाई उसैको मैदानमा २–० गोलले हरायो । जितसँगै रियलले शीर्षस्थानमा आठ अंकको अग्रता बनाएको हो ।

रियलको जितमा भिनिसियस जुनियर र लुका जोभिकले गोल गरे । दुवै गोल दोस्रो हाफमा गरेको रियलका लागि निनिसियसले ४७औं मिनेटमा खाता खोले । उनले लुका जोभिकको पासमा गोल गरेका थिए । जारी लिगमा भिनिसियसको यो ब्यक्तिगत १०औं गोल हो ।

५७औं मिनेटमा लुका जोभिकले क्यासमिरोको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । लुका १७औं मिनेटमा कप्तान करिम बेन्जेमाको स्थानमा मैदान छिरेका थिए । बेन्जेमाले चोटका कारण मैदान छाडेका थिए । ४९ प्रतिशत बल पोसेसन राखेको सोसिडाडले १३ वटा पोस्ट प्रहार गरेपनि गोल गर्न सकेन । रियलका लुका जोभिक ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै शीर्षटोली रियलको १६ खेलबाट ३९ अंक पुगेको छ । पराजित सोसिडाड २९ अंक सहित पाँचौं स्थानमा झरेको छ । दोस्रो स्थानमा रहेको सेभियाको ३१ अंक छ । शनिबार रातिनै भएको खेलमा सेभियाले भिल्लारियललाई १–० गोलले हरायो ।

घरेलु मैदानमा सेभियालाई जिताउन लुकास ओकम्पोस नायक बने । लुकासले १६औं मिनेटमा गरेको गोल सेभियाका लागि प्रयाप्त बन्यो । पराजित भिल्लारियल १६ अंक सहित १३औं स्थानमा छ ।

बार्सिलोना र एट्लेटिको म्याड्रिडले भने हार खेपेको छ । दुवै टोलीले घरेलु मैदानमा हार खेपेका हुन् । बार्सिलोला रियल बेटिससँग १–० गोलले स्तब्ध बन्यो । एट्लेटिको मालोर्कासँग २–१ गोलले पराजित भयो ।

बार्सिलोनालाई उसैको मैदानमा स्तब्ध बनाउन बेटिसका जुआनमीले ७९औं मिनेटमा निर्णायक गोल गरे । बार्सिलोनालाई हराएसँगै ३० अंक बनाएको बेटिस तेस्रो स्थानमा छ । पराजित बार्सिलोना २३ अंक सहित सातौं स्थानमा छ ।

अर्को खेलमा मालोर्कालाई जिताउन फ्रान्को रुस्सोले ८०औं र ताकेफुसा कुवोले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए । एट्लेटिकोका म्याथिअस कुन्हाले ६८औं मिनेटमा सुरुवाती गोल गरेका थिए । जितसँगै १९ अंक बनाएको मालोर्का १२औं स्थानमा उक्लिएको छ । २९ अंक बनाएको एट्लेटिको चौथो स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस