मलको चरम अभाव: गहुँ छर्ने बेला भयो, मल आएन

पत्रपत्रिकाबाट

विहीबार, १६ मंसिर २०७८, ०८ : १६
मलको चरम अभाव: गहुँ छर्ने बेला भयो, मल आएन

काठमाडौं । गहुँ खेतीका लागि किसानले खनजोत गरिरहेका छन्। तर, बजारमा डीएपी मलको चरम अभाव छ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार गहुँबालीका लागि ६० हजार मेट्रिक टन डीएपी मलको आवश्यकता छ। सरकारसँग मौज्दात १५ हजार मेट्रिक टन मात्रै छ। १० हजार मेट्रिक टन विदेशबाट आउने क्रममा छ। बाटोमा रहेको मल आइपुगे पनि यो वर्ष २५ हजार मेट्रिक टन मात्र मल किसानले पाउनेछन्। किसानले मागको आधा पनि मल नपाउने अवस्था छ।  

कृषि मन्त्रालय र मातहतका निकायहरू गहुँखेतीलाई आवश्यक मल उपलब्ध गराउन नसकिने ‘लाचारी’ व्यक्त गर्न थालेका छन्। कोभिडका कारण उत्पादक कम्पनीले नै कम उत्पादन गरेको र अन्तर्राष्ट्रिय बजारमै मलको भाउ बढेकाले पयाप्त खरिद गर्न नसकिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ।

कृषिमन्त्री महेन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण पर्याप्तमात्रामा मल खरिद गर्न नसकेको बताए। मलसम्बन्धी खरिद ऐन पुरानो भएकाले पनि खरिद गर्न कठिनाइ भएको हो। 

किसानहरूको आवश्यकताअनुसार मल आपूर्ति गर्न नसकिएको लिमिटेडका सूचना अधिकारी राजेन्द्र कार्कीले स्वीकारे। ‘मलको माग अधिक छ,’ कार्कीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘गत वर्षको जति पनि मल आउन सकेको छैन।’ युरिया मलको भने अभाव छैन। तर, डीएपी भने किसानको माग अनुरूप उपलब्ध गराउन नसक्ने कार्की बताउँछन्। 

चालू वर्षका लागि सरकारले २५ हजार मेट्रिक टन मात्रै डीएपी मल खरिद गरेको थियो। १५ हजार मेट्रिक टन नेपाल आइसकेको छ। यो भनेको ३ लाख बोरा हो। सरकारले ठेकेदार कम्पनी इन्डियन पोटास लिमिटेड (आईपीएल) सप्लायर्ससँग २५–२५ हजार मेट्रिक टन युरिया र डीएपी मल खरिदका लागि सम्झौता गरेको थियो। डीएपी १० हजार मेट्रिक टन रेल नपाउँदा बाटोमै अड्किएको छ। ‘एउटा रेल पाइयो।

२ रेलको बुकिङ गर्न पाइएको छैन,’ कार्कीले भने, ‘बुकिङ खुले लगत्तै भैरहवा र वीरगन्जको आईसीटी नाकामा मल आइपुग्छ।’ आजको अन्नपुर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस