एमालेको १०औं महाधिवेशन

ओलीले प्रस्ताव गरेको पदाधिकारी भएन समावेशी

सफल खबर संवाददाता

सोमबार, १३ मंसिर २०७८, १२ : ११
ओलीले प्रस्ताव गरेको पदाधिकारी भएन समावेशी

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्रमा निवर्तमान अध्यक्ष केपी ओलीले प्रस्ताव गरेको १९ पदाधिकारीमा दुई जना महिलासहित एक–एक जना दलित र मधेसी समुदायको मात्रै प्रतिनिधित्व भएको छ ।

ओलीले आफ्नो प्रस्तावमा १९ मध्ये १३ जना खसआर्य समुदायबाट पदाधिकारीमा प्रतिनिधित्व गराए पनि अन्य समुदायबाट भने कम प्रतिनिधित्व गराएका छन् । एमालेको भावी पदाधिकारी संरचनामा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, विष्णु रिमाल खस आर्य समुदायबाट छन् । 

ओलीले प्रस्ताव गरेका सात जना सचिवमध्ये टोपबहादुर रायमाझी, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल गरी पाँचै जना खस आर्य समुदायका छन् । यसैगरी, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा अर्याललाई प्रस्ताव गरेर पदाधिकारीमा महिलालाई दुई जनामा सीमित गरेका छन् भने सचिवमा छविलाल विश्वकर्मालाई मात्रै समेटेर एक जना दलितको प्रतिनिधित्व गराएका छन् । 

ओलीको प्रस्तावअनुसार सचिव हुन लागेका रघुवीर महासेठ मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने एक मात्र एमालेका पदाधिकारी बनेका छन् । जनजाति समुदायबाट उपाध्यक्ष शाक्य, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ गरी चार जना मात्रै आदिवासी जनजाति समुदायबाट छन् ।

प्रतिक्रिया दिनुहोस