ललितपुर कांग्रेस अधिवेशनमा नाराबाजी, शमशेरमाथि हातपातको प्रयास

सफल खबर संवाददाता

आइतबार, १२ मंसिर २०७८, १० : ३७
ललितपुर कांग्रेस अधिवेशनमा नाराबाजी, शमशेरमाथि हातपातको प्रयास

काठमाडौं । नेपाली काँग्रेस ललितपुरको जिल्ला अधिवेशनमा नाराबाजी भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान हुने क्रममा नाराबाजी भएको हो । काँग्रेस नेता एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणामाथि वर्तमान जिल्ला सभापति मदन अमात्य समूहले हातपातको प्रयास गरेपछि नाराबाजी भएको हो । 

मतदानका क्रममा प्रचार सामग्रीसहित हलभित्र नजान आग्रह गर्दा अमात्य पक्षका कार्यकर्ताले राणामाथि हातपात गरेका हुन् । राणा पक्षका कार्यकर्ताहरूले  ‘गुण्डागर्दी बन्द गर’ भन्दै नाराबाजी गरेका हुन् । जावालाखेलको स्टाफ कलेजमा अहिले मतदान जारी छ ।

दोस्रो चरणमा सभापतिका उम्मेदवार रामकृष्ण चित्रकार र जितेन्द्र कुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । केन्द्रमा सभापति शेरबहादुर देउवा समूहमै रहेका राणा र अमात्यले जिल्ला अधिवेशनमा भने छुट्टाछुट्टै प्यानल बनाएका छन् । राणाको समर्थन श्रेष्ठलाई रहेको छ भने अमात्यले चित्रकारलाई सभापतिमा अगाडि सारेका हुन् । 

प्रतिक्रिया दिनुहोस