नदीको मापदण्ड मिच्दा बस्ती धरापमा

पत्रपत्रिकाबाट

आइतबार, ०५ मंसिर २०७८, ०७ : ४९
नदीको मापदण्ड मिच्दा बस्ती धरापमा

पोखरा । पोखरा–१५ अमिनतरास्थित सेती नदी किनारको बस्ती पोहोरसम्म जोखिमपूर्ण मानिँदैनथ्यो। पोखराको मुख्य बजारबाट कुनो पर्ने भएकाले घडेरी पनि केही सस्तै थियो। यही कारण धेरैले अमिनतरा रोजे। तर, गत वर्ष हिउँदमा सबैलाई त्रसित बनाउँदै नदीको डिल फुसफुस खस्दै बग्न थाल्यो। बस्तीनजिकै जमिन चिरा पर्‍यो। दुई घरको आधा भाग नै सेतीमा मिसिन पुग्यो। 

यो वर्ष वर्षायामयता घरै छाडेर डेरामा बस्दै आएको स्थानीय कमला विक सुनाउँछिन्। उनी बिहानै उठेर घर के भो भनेर हेर्न जान्छिन्। विकले कतारमा श्रीमान्ले श्रम गरी पठाएको पैसाले घडेरी किनेर घर बनाएकी थिइन्। तर, आडमै छिमेकीको घर सेतीको डिलसँगै आधा खसेपछि उनको निद्रा हराएको छ। 

सेतीको डिल गत जेठ ३१ गतेदेखि पुनः खस्दा एउटा काठ उद्योगसहित दुई घरमा क्षति पुर्‍यायो। त्यसपछि किनारका ६ घरपरिवारलाई सुरक्षित ठाउँमा बस्न भनिएको वडाध्यक्ष प्रकाश पौडेल बताउँछन्। सेतीको खोच खस्न नरोकिएपछि गत हिउँददेखि नै पोखरा महानगरपालिकाले मापदण्डभन्दा वरसम्मै घर बनाउन रोक लगाइएको वडाध्यक्ष पौडेलको भनाइ छ। महानगरपालिकाले नदीका दायाँ–बायाँ ठाउँअनुसार १०, २५ र ३० मिटर मापदण्ड तोकेको छ। 

दायाँ–बायाँ ७५÷७५ मिटरमा भौतिक संरचना बनाउँदा जोखिम हुने सन् १९९८ को एक अध्ययनले देखाएको छ। उक्त अध्ययन टोलीको सुझावलाई बेवास्ता गर्दै महानगरपालिकाले मापदण्ड घटाइरहेको छ। सेतीको डिल खस्न थालेपछि भने ३० मिटरभन्दा वरसम्म कुनै संरचना नबनाउन महानगरले भनेको हो। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस