हस्तकलाको व्यापारसँग सम्बन्धित करका समस्यालाई समाधान गर्छु : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

शुक्रबार, ०३ मंसिर २०७८, १६ : ३५
हस्तकलाको व्यापारसँग सम्बन्धित करका समस्यालाई समाधान गर्छु : प्रधानमन्त्री देउवा

काठमाडौं । आजदेखि १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिता शुरु भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा आजदेखि ५ गतेसम्म्म काठमाडौको बौद्धस्थित होटल हायात रिजेन्सीमा मेला शुरु भएको हो ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल हस्तकला महासंघको १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकलाको व्यापारसँग सम्बन्धित करका समस्यालाई समाधान गर्ने बताएका छन् ।

उनले नेपाली हस्तकलालाई आधुनिक फेशनमा समावेश गराउन सके यसप्रतिको आकर्षण बढ्ने पनि बताए । उनले भने, ‘नेपालमा यस्तै महत्वपूर्ण उपलब्धीहरु हुन सक्छन् । हामीले हस्तकलालाई अझ विकास गर्न सक्यौ, कहिलेकाहीँ के हुन्छ भने आधुनिक फेशनसँग मिल्नेपनि बनाउनुपर्ने हुन्छ । त्यसकारण त्यस्तै किसिमका कपडाहरु, फेशनसँग म्याच खाने कपडाहरु बनाउन सक्नुभयो भने त्यसले आकर्षण बढ्नेछ भने त्यस्तै कलापनि नेपाल भरी नै वृद्धि हुन सक्छ । एयरपोर्टहरुमा, यस्तो ठाउँमा राख्नसक्नुभए राम्रो हुनेछ । यसको लागि ट्याक्ससम्बन्धी समस्याहरु छन्, त्यसलाई हामी निराकरण गर्दै सहजीकरण गर्ने विश्वास दिलाउछौँ ।’

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाली पहिचान र संस्कृति झल्कने हस्तकला विदेशमा निर्यात गरी विदेशमा समेत नेपाली चिनारीको प्रचार भएको बताए ।

उनले भने,‘नेपाली हस्तकला व्यवसायीहरुले स्थानीय स्रोत, साधनको प्रयोगगरी स–साना औजारले नेपालको कला, संस्कृति, जीवनशैली झल्किने ढुंगा र धातुका मुर्तिहरु, काष्ठबाट बनेका विभिन्न काष्ठकलाहरु, तामाङ सभ्यताका थान्का चित्रहरु, मिथिला सभ्यताका चित्रहरु, पश्मिना, गलैँचा, ढाका कपडाका विभिन्न सामानहरुको उत्पादन तथा निर्माण गरी विदेशमा निर्यात व्यापार गरी देशको चिनारी र प्रचारको साथै विदेशी मुद्रा देशभित्र भित्राउन सफल भएको छ ।’

मन्त्री आलेले वार्षिक ६ अर्ब रुपैयाँ बराबरको मुल्यका हस्तकला विश्वका ८० देशमा निर्यात भएको बताए । आन्तरिक बजारमा २ अर्ब रुपैयाँ बराबरको कारोबार गरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा करिब ७ लाखको संख्यामा रोजगारी सिर्जना भएको उनले जानकारी दिए । १८ औँ हस्तकला व्यापार मेला आगामी ५ गते सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस