महोत्तरीमा कांग्रेसकाे प्रदेश अधिवेशन अन्याेलमा

सफल खबर संवाददाता

शुक्रबार, ०३ मंसिर २०७८, ११ : ०५
महोत्तरीमा कांग्रेसकाे प्रदेश अधिवेशन अन्याेलमा

महोत्तरी । विवादका कारण महोत्तरीका केही वडामा नेपाली कांग्रेसको अधिवेशन हुन नसकेकाले आज हुने भनिएको प्रदेश अधिवेशन अन्योलमा परेको छ । महोत्तरीका १५ स्थानीय तहमध्ये सातवटामा निर्वाचनमार्फत र ६ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

बल्वा नगरपालिकामा विवादका कारण अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको कांग्रेस महोत्तरीले जनाएको छ ।मनरासिस्वा नगरपालिका-८ मा विवादकै कारण अझै अधिवेशन हुन सकेको छैन । एक सय ३७ वडामा कतै निर्वाचन र कतै सर्वसम्मतिमा अधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेस महोत्तरीका सभापति महेश्वर रायले जानकारी दिए । मनरासिस्वा-८ मा त  उम्मेदवारहरूबीच हात हालाहाल भएपछि वडा अधिवेशन स्थगित भएको थियो ।

सातवटा पालिकामा भएको निर्वाचनको परिणाम अझै आउन बाँकी रहेकाले प्रदेश अधिवेशन अन्योलमा परेको हो । आज खुल्लासत्र गर्ने तर निर्वाचनका विषयमा भने छलफल भएको छैन, सभापति रायले भने ।

जलेश्वर, भंगाहा र मनरासिस्वाको मतपरिणाम आइसकेको छैन । विवाद भएका वडा र पालिकाबाहेक अन्य सबै ठाउँको अधिवेशन आजै टुंगोमा पुर्‍याउने नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले बताए । निर्वाचन सहजीकरण गर्न केन्द्रवाटै आएका निर्वाचन अधिकृत इन्द्र सुवेदीका अनुसार महोत्तरीमा सवैभन्दा ठूलो विवाद मतदान केन्द्रको विषयमा भएको छ । उम्मेदवारमा भन्दा पनि मतदान गर्ने विषयमा मतदान केन्द्रलाई लिएर ठूलो विवाद छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस