देउवा–निधि सम्बन्धः सहयात्रा अब प्रतिस्पर्धातिर

पत्रपत्रिकाबाट

बुधबार, ०१ मंसिर २०७८, ०८ : ०३
देउवा–निधि सम्बन्धः सहयात्रा अब प्रतिस्पर्धातिर

काठमाडौँ । शेरबहादुर देउवाको उत्तराधिकारीका रूपमा २०३६ सालमा नेपाली कांग्रेसका वर्तमान उपसभापति विमलेन्द्र निधि नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए। गृहनगर जनकपुरमा भएको संघको महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा पुगेका निधि ४२ वर्षपछि माउ पार्टी कांग्रेसमा पनि देउवाको उत्तराधिकारी बन्न चाहन्थे।

पार्टीको १४औं महाधिवेशनमा आफूलाई सभापतिमा सहयोग गर्न सभापति देउवालाई निधिले पटकपटक आग्रह गर्दै आएका छन्। तर मंसिर २४ देखि काठमाडौंमा तोकिएको १४औं महाधिवेशनबाट देउवाले फेरि सभापतिमा दोहोरिने बताएका छन्। दुवैले सभापतिको प्रत्यासी बन्ने तयारी तीव्र बनाएसँगै देउवा र निधिको लामो सहयात्रा अब प्रतिस्पर्धामा बदलिन लागेको छ।

कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको अन्तरसंघर्षदेखि १३औं महाधिवेशनबाट देउवालाई सभापतिमा निर्वाचित गराउन निधिको भूमिका महत्वपूर्ण रहेको थियो। फरक पार्टी गठन गर्न होस् वा तत्कालीन नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकीकरणपछिको गुटगत प्रतिस्पर्धामा, देउवाका सारथि हुन् निधि।

झन्डै तीन दशक लामो गुटगत सहकार्य तोड्दै देउवा र निधिले अहिले अलगअलग बाटो रोजेका छन्। त्यतिमात्र होइन, पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धाको तयारीमा जुटेका छन् दुवैजना। नागरिक दैनिकमा खबर छ ।