देउवाले धान्न नसकेको कदः बाइडेनले टोपीका आधारमा चिन्नु पर्‍यो

पत्रपत्रिकाबाट

शनिबार, २७ कार्तिक २०७८, ०८ : ५५
देउवाले धान्न नसकेको कदः बाइडेनले टोपीका आधारमा चिन्नु पर्‍यो

काठमाडौँ । संयुक्त राष्ट्रसंघले स्कटल्यान्डको ग्लास्गोमा आयोजना गरेको विश्व जलवायु सम्मेलनमा सहभागी भएर स्वदेश फर्किने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनेकोमा खुसी व्यक्त गरे। सम्मेलनका क्रममा भएको भेटमा बाइडेनले आफ्नो टोपी देखेर चिनेको भन्ने देउवाको भनाइ आलोचित पनि भयो। 

आमजनताले आफ्नो देशका प्रधानमन्त्रीले शक्तिशाली मुलुकका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटेर मुलुकको हितबारे के कुरा गरे भनेर जिज्ञासा राखिरहँदा देउवा भने अमेरिकी राष्ट्रपति बाइडेनले टोपी लगाएका कारण चिनेकोमा मख्ख थिए।भलै त्यो भेट कुनै साइडलाइन वा विशेष नभएर सम्मेलनका क्रममा भएको जम्काभेट मात्र थियो।

नेपालमा माओवादी सशस्त्र द्वन्द्वले उग्ररूप लिइरहेका बेला सन् २००२ मे ७ मा प्रधानमन्त्रीको हैसियतमा देउवाले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई ह्वाइटहाउसमा गएर भेट गरेका थिए।

त्यहाँ दुई नेताबीच नेपालमा चलिरहेको सशस्त्र द्वन्द्वलाई कसरी परास्त गर्ने, नेपालमा प्रजातन्त्र कसरी सुदृढ बनाउने, क्षेत्रीय सुरक्षा,आर्थिक तथा शैक्षिक सहयोगसम्मका कुराकानी भएका थिए। देउवा दोस्रो पटक प्रधानमन्त्री हुँदा तत्कालीन अमेरिकी राष्ट्रपति बुससँग नेपालमा माओवादी समस्या कसरी समाधान गर्ने भनेर वार्ता गर्न अमेरिका गएका थिए।

उक्त भेटलगत्तै ह्वाइट हाउसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा देउवाले राष्ट्रपति बुसले नेपालमा माओवादी समस्या समाधान गर्न सहयोग गर्नेमा विश्वस्त गराएको बताएका थिए। 

आतंकवादविरुद्धको अभियानमा ह्वाइटहाउस र राष्ट्रपति बुसको साथ रहेको भन्दै नेपालको कार्यकारी प्रमुखका हिसाबले देउवाले गर्वका साथ पत्रकारसँग बोलेका थिए। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस