झाडापखाला नियन्त्रण नभएपछि कपिलवस्तुमा खोपको तयारी

रासस

मंगलबार, २३ कार्तिक २०७८, १४ : २६
झाडापखाला नियन्त्रण नभएपछि कपिलवस्तुमा खोपको तयारी

file-photo

कपिलवस्तु ।  कोरोना भाइरस न्यून हुँदै आएको वेला कपिलवस्तुमा झाडापखाला देखा पर्‍याे । गत असोज १८ गतेबाट सुरु भएको झाडापखाला अझै पूर्ण रूपमा नियन्त्रणमा भने आउन सकेको छैन। 

कृष्णनगर नगरपालिका– ९ बाट सुरु भएको झाडापखाला शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकमा समेत लक्षण देखापरी अस्पतालमा भर्ना भएका थिए। प्रयोगशालामा परीक्षण गर्दा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो।

अहिलेसम्म जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार शिवराज अस्पताल बहादुरगन्जमा एक हजार तीन सय ३२, बैदौली अस्पतालमा ६१ र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारका लागि भर्ना भएका थिए।

अहिले पनि दैनिक १० जनाभन्दा बढी उपचारत रहेको शिवराज अस्पताल बहादुरगन्जका स्वास्थ्यकर्मीको भनाइ छ। अहिलेसम्म जिल्लामा ६ जनाको झाडापखालाकै कारण मृत्युसमेत भएको छ। अस्पतालमा भने अहिलेसम्म कसैको ज्यान नगएको स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्यांकमा छ।

‘केही दिन कम भएको थियो, पछिल्लो समय फेरि दैनिक ८–१० जना बिरामी आउने गरेका छन्,’ शिवराज अस्पतालका डा. मुकेश चौधरीले भने, ‘अझै पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन। पहिलाको तुलनामा केही कम भएको छ।’ गाउँमा बान्ता र पखालाका बिरामी अहिले पनि रहेका छन्। शिवराज नगरपालिका– ७ र ८ का गाउँमा झाडापखाला देखापरे पनि अहिले नियन्त्रणमा रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराईले बताए।

यता स्वास्थ्य कार्यालय कपिलवस्तुले खोपका लागि तयारी गरिरहेको जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले जानकारी दिए। साढे दुई लाख खोप विश्व स्वास्थ्य संगठनले दिने निर्णय भइसकेको र खोप आउनासाथ कार्यक्रम लागू गरिने पाण्डेले बताए।

पहिलो चरणमा पाँच स्थानीय तहका नागरिकलाई खोप दिने तयारी छ। खोपसँगै नागरिकले पनि सफा पानी पाउने, हात धुनेलगायत सरसफाइमा विशेष ध्यान दिएमा मात्र नियन्त्रण हुने स्वास्थ्यकर्मीको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस