पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०८ भदौ २०८२, ०८ : ४३
पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु

वीरगञ्ज । पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु भएको छ।

नारायणी अस्पताल, वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले उपचारको क्रममा झाडापखालाको लक्षण देखापरेका एक जना बिरामीको आज मृत्यु भएको जानकारी दिए। उनले बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको बताए।

यस्तै, वीरगञ्ज हेल्थ केयरमा उपचाररत अर्का एक बिरामीको शुक्रबार मृत्यु भएको बताइएको छ। स्वास्थ्य कार्यालयले झाडापखालाका कारण मृत्यु भए पनि हैजा थियो वा थिएन भन्नेबारे जाँच भइनसकेको जनाएको छ।

जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिले हैजा र झाडापखालाका बिरामीलाई यहाँका सबै अस्पतालमा ‘डेडिकेटेड बेड’ छुट्याएर उपचार गर्न निर्देशन दिएको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले हैजाको सङ्क्रमण बढेको अवस्थामा उपचारका लागि पर्याप्त रूपमा ‘डेडिकेटेड बेड’ छुट्याई उपचार गर्न र जनशक्ति व्यवस्थापन गर्न सबै अस्पताललाई निर्देशन दिएको हो।

प्रतिक्रिया दिनुहोस