प्रधानन्यायाधीशले आफैँलाई इजलास तोकेपछि न्यायाधीशहरू इजलास नजाने

सफल खबर संवाददाता

सोमबार, २२ कार्तिक २०७८, ११ : २९
प्रधानन्यायाधीशले आफैँलाई इजलास तोकेपछि न्यायाधीशहरू इजलास नजाने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफैँलाई इजलास तोकेपछि न्यायाधीशहरू इजलासमा नजाने भएका छन् । प्रधानन्यायाधीश जबराले सोमबारका लागि ६ वटा इजलास गठन गरेर सातवटा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ । तर, यसअघिको सहमतिविपरीत प्रधानन्यायाधीश जबराले आफैँमा इलजास तोकेका लागि सोमबार पनि इजलासमा आन्दोलित न्यायाधीशहरू नजाने भएका छन् । 

विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, वमकुमार श्रेष्ठ र प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र डा. कुमार चुडाल, तेज बहादुर केसी र नहकुल सुवेदीको इजलासमा एक एकवटा बन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाइका लागि तोकिएको छ भने प्रधानन्यायाधीश जबरा र न्यायाधीश डा. कुमार चुडालको इजलासमा दुईवटा बन्दीप्रत्यक्षीकरणका मुद्दा छन् । तर, प्रधानन्यायाधीश जबराले आफैँलाई इजलास तोकेको भन्दै न्यायाधीशहरू इजलासमा नजाने भएका हुन् । 

प्रधानन्यायाधीशज्यूले आफूलाई इजलास नतोक्ने बताएपछि हामी इजलासमा जाने भएका थियौँ’, एक न्यायाधीशले भने, ‘तर, सोमबार आफैँले उहाँले इजलास तोक्नु भएकाले हामी नजाने भएका छौँ । अहिले पनि हामीहरू थप रणनीति बनाउन छलफलमै छौँ ।’ 

जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेका छन् । न्यायाधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन् । उनीहरूले सोमबार पनि आन्दोलन जारी राखेका छन् । 

प्रतिक्रिया दिनुहोस