२० मुलुकमा योग्य र सक्षमलाई राजदूत नियुक्त गर्ने समझदारी

सफल खबर संवाददाता

आइतबार, २१ कार्तिक २०७८, १५ : ३८
२० मुलुकमा योग्य र सक्षमलाई राजदूत नियुक्त गर्ने समझदारी

काठमाडौँ । प्रमुख सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रबीच रिक्त रहेका २० मुलुकमा योग्य र सक्षम व्यक्तिलाई मात्र राजदूत नियुक्त गर्ने समझदारी भएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तीन दिनअघि भएको भेटमा मुलुकको प्रतिष्ठा र छवि बढाउन सक्ने व्यक्तिलाई मात्रै राजदूत नियुक्त गर्ने सहमति बनेको हो। 

‘देउवाजीसँग राजदूत नियुक्ति लगायतका विषयमा छलफल भएको छ। अब सक्षम र योग्य व्यक्तिलाई राजदूत सिफारिस गर्नुपर्छ। मेरो र तेरो मान्छे भन्नुभन्दा कुन देशमा कस्तो मान्छे पठाउँदा देशको इज्जत बढ्छ, त्यस्तो मान्छेलाई हामीले राजदूत बनाएर पठाउने हो। राजनीतिक भागबण्डा भनेर मान्छे तानातान गर्नु हुँदैन भन्ने समझदारी हाम्रो बीचमा भएको छ,’ अध्यक्ष प्रचण्डले एक टेलिभिजन अन्तवार्तामा भनेका छन्। ​

सरकारले एक साताअघि भारतका लागि अर्थविद् डा शंकर शर्मा, अमेरिकाका लागि परराष्ट्र मामिला विज्ञ श्रीधर खत्री र बेलायतका लागि पूर्व परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो। यी तीनै जना नेपाली कांग्रेसको कोटामा सिफारिस भएका हुन्। सरकारको नेतृत्व गरिरहेको कांग्रेसले कूटनीतिक क्षेत्रका अनुभवी र जानकारलाई राजदूत सिफारिस गरेपछि अब सत्तासाझेदार माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीमाथि पनि कूटनीति र अन्र्तराष्ट्रिय सम्बन्धको ज्ञान भएका व्यक्तिलाई राजदूत सिफारिस गर्न दबाब परेको छ। 

प्रस्तावित राजदूत शर्मा र आचार्य पूर्वराजदूत हुन् भने खत्री नयाँ अनुहार हुन्। शर्मा र आचार्यलाई दोहोर्याइएकोमा कांग्रेसभित्र केहीले असन्तुष्टि जनाए पनि उनीहरुको योग्यता र कार्यक्षमतामा प्रश्न उठेको छैन। शर्मा, खत्री र आचार्यको संसदीय सुनुवाइ प्रक्रिया सुरु भइसकेको छ। सुनुवाइपछि परराष्ट्र मन्त्रालयले उनीहरुको एग्रिमो स्वीकृतिका लागि सम्बन्धित मुलुकमा पठाउनेछ। ती मुलुकबाट एग्रिमो स्वीकृत भएर आएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई राजदूत नियुक्त गर्नेछिन्। 

प्रतिक्रिया दिनुहोस