रविन्द्र मिश्रलाई प्रकाशमानको प्रश्न – सानो पार्टी जोगाउन नसक्नेले ठूला कुरा किन गर्नु ?

सफल खबर संवाददाता

शुक्रबार, १९ कार्तिक २०७८, १६ : ५५
रविन्द्र मिश्रलाई प्रकाशमानको प्रश्न – सानो पार्टी जोगाउन नसक्नेले ठूला कुरा किन गर्नु ?

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले देशको विकासका लागि काँग्रेसको विकल्प नरहेको बताएका छन् । शुक्रबार नेपाल संवत्का अवसरमा बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले नेपालका कम्युनिष्ट पार्टीहरुले जनतामा भ्रम मात्रै सिर्जना गरेको भन्दै काँग्रेस मात्रै भरोसा गर्ने पार्टी भएको बताए ।

‘पहिलो संविधानसभामा चार जना कम्युनिष्ट प्रधानमन्त्री बने तर संविधान बनाउन सकेनन् । दोस्रो संविधानसभामा काँग्रेसको सरकार बन्यो । संविधान पनि बन्यो। दुई तिहाईको कम्युनिष्ट सरकार बन्यो तर काम गर्न सक्यो त रु’ नेता सिंहको प्रश्न छ ।
भ्रम फैलाउने प्रतियोगिता भए एमाले अध्यक्ष केपी शर्मा ओलीले ओलम्पिक नै जित्ने भन्दै सिंहले कटाक्ष गरे ।

‘कम्युनिष्टहरुले जनतामा भ्रम फैलाएर भोट माग्छन् ।  भ्रम फैलाउने प्रतियोगिता भए ओलम्पिक जित्छन् ओलीले । संसार भरमै यति झुटो र भ्रम फैलाउने काममा नेपालका कम्युनिष्टहरुले मात्रै सक्छन्,’ उनले भने । यस्तै नेता सिंहले काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनुपर्नेमा जोड दिए । उनले काम नगर्ने तर लोकप्रिय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको टिप्पणी गरे ।

नेता सिंहले  नयाँ नारा मात्रै दिएर राजनीति सम्भव नहुने बताए । ‘मेरो निर्वाचन क्षेत्रलाई एलिटहरु बस्ने ठाउँ भन्छन् । पढेलेखेका मतदाता छन् । चुनावका बेलामा नयाँ नयाँ पार्टीहरू आउँछन् । काम केही गरेको  हुँदैन तर नयाँ र आकर्षक नारा दिएर मतदाता प्रभावित हुने अवस्था छ,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस