एमाले र एकीकृत समाजवादीबीच कार्यक्रममै काउन्टर

सफल खबर संवाददाता

विहीबार, १८ कार्तिक २०७८, १३ : ३७
एमाले र एकीकृत समाजवादीबीच कार्यक्रममै काउन्टर

खोटाङ । खोटाङमा नेकपा (एमाले) र एमालेबाट अलग भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बीचमा कार्यक्रममार्फत एकले अर्कालाई काउण्टर गर्न थालेका छन् ।

एमालेको खोटाङ–काठमाडौं सम्पर्क मञ्च र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङ-काठमाडौं सम्पर्क मञ्चले एकै दिन काठमाडौंमा देउसीभैली कार्यक्रम गरेको छ । बुधबार एमालेको खोटाङ-काठमाडौं सम्पर्क मञ्चले अन्नपूर्ण पाटी भेन्यू, पुरानो बानेश्वरमा देउसीभैली गरिरहँदा एकीकृत समाजवादी खोटाङ–काठमाडौं सम्पर्क मञ्चले शान्तिनगरस्थित बेबिलोन नेशनल सेकेण्डरी स्कुलमा देउसीभैली कार्यक्रमको आयोजना गरेको थियो । 

१२ कात्तिकमा एकीकृत समाजवादीको जिल्ला कमिटीको बैठक बसेर जिल्ला कमिटीको जिम्मेवारी हेरफेरदेखि, पालिका इन्चार्ज, सह–इन्चार्ज, विभागलगायतको जिम्मेवारी टुंग्याउने निर्णय गर्‍यो । त्यहीँ दिन एमाले जिल्ला कमिटीको ७औं सचिवालय बैठक बस्यो र पार्टी सदस्यताको काम टुंग्याउनका लागि १० वटै पालिकामा उत्प्रेरकको जिम्मेवारी बाँडफाँड गर्नेदेखि बेमौसमी वर्षाका कारण जनधनको क्षति ब्यहोरेका नागरिकलाई राहत प्रदान गर्न सरकार समक्ष माग गर्ने लगायतका निर्णय गर्‍यो । कतिसम्म भने दुबै पार्टीको बैठकको निर्णय सार्वजनिक गर्ने मितिसमेत एकै दिन पारिए । १४ कात्तिक विहान एकीकृत समाजवादीले जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार सम्मेलन गर्‍यो भने एमालेले दिक्तेलको होटल भिलेजमा पत्रकार भेटघाट कार्यक्रम गरेको थियो । 

एमाले र नेकपा (एस)को बैठक तथा कार्यक्रमको मिति एकै दिन पर्नुलाई संयोगमात्र मान्न नसकिने स्वयं तिनै पार्टीका नेता तथा कार्यकर्ता बताउँछन् । पार्टीभित्र देखिएको विभाजनका कारण ढुलमुल भएका नेता तथा कार्यकर्तालाई आफ्नै पार्टीमा अलमलाउनका लागि दुई पार्टीले कार्यक्रम जुधाउने गरेको बताइन्छ । फरक विचार राख्ने पार्टी तथा नेताप्रति सहिष्णु बन्नु राजनीतिक ‘कल्चर’ हो, तर दुई पार्टीबीचमा कार्यक्रममार्फत एकले अर्कालाई ‘काउण्टर’ गर्ने गरेका छन् । जिल्लामा शक्ति प्रदर्शनमासमेत दुई पार्टीबीचमा होड चल्न थालेको देखिन्छ । 

१३ कात्तिकमा एकीकृत समाजवादी र एमालेको पत्रकार सम्मेलन हुने जानकारी केही पत्रकारलाई गराइए तर एकको पत्रकार सम्मेलन अर्को दिन सर्ने भएपछि दुबै पार्टीको पत्रकार सम्मेलन १४ कात्तिकमा पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस