प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता

सफल खबर संवाददाता

मंगलबार, १६ कार्तिक २०७८, २० : २०
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप २६) मा सहभागी हुन गएका प्रधानमन्त्री देउवा र मोदीबीच मंगलबार भेटवार्ता भएको हो। 
प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता भएको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले ट्विटरमार्फत दुई प्रधानमन्त्रीबीच साइडलाइन वार्ता भएको बताएका छन्। प्रधानमन्त्री देउवाले गत २९ असारमा पद सम्हालेयता भारतीय समकक्षी मोदीसँगको यो पहिलो भेटवार्ता हो। ‘दुई नेताबीच द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने, जलवायु परिवर्तन, कोभिड(१९ महामारीको प्रभाव कम गर्न तथा महामारीपछिको पुनरुत्थानका लागि सहकार्य गर्नेबारे छलफल भएको छ,’ बाग्चीले भनेका छन्।

दुई नेताबीच भएको भेटवार्ताबारे विस्तृत केही बताइएको छैन। तर यो भेटपछि नेपाल आएर देउवा भारत भ्रमणमा जान सक्नेछन्।  त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि चाँडै नेपाल भ्रमण गर्ने विषयमा दुई पक्षबीच कुरा भएको बताइएको छ। 

प्रधानमन्त्री देउवासँग श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेले पनि भेटवार्ता गर्ने भएका छन्। यसैगरी संयुक्त अधिराज्यका रक्षामन्त्री, विश्व बैंक र आइएमओका पदाधिकारीले पनि प्रधानमन्त्री देउवासँग साइडलाइन बैठक गर्ने भएका छन्। प्रधानमन्त्री देउवा पाँचौँ पटक प्रधानमन्त्री भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो।

प्रतिक्रिया दिनुहोस