विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श

सफल खबर संवाददाता

मंगलबार, १६ कार्तिक २०७८, ०८ : १८
विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श

काठमाडौं । हाम्रोपात्रोले अनलाइनबाटै विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श दिन सुरु गरेको छ । एपले ‘हाम्रो हेल्थ’ फिचरको रुपमा ‘टेलि मेडिसिन’ सेवा सञ्चालनमा ल्याएको हो । 

यो सेवा सोमबारदेखि परीक्षणको रुपमा सुरु गरिएको हाम्रो पात्रो इंकले जनाएको छ । कम्पनीका अनुसार तत्कालका लागि एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध भएको यो सेवा अबको दुई महिनामा आईओएस प्रयोगकर्ताले समेत उपयोग गर्न सक्नेछन् ।  सुविधा सम्पन्न स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका बिरामीलाई लक्षित गरी ल्याइएको यो सेवामार्फत विभिन्न रोगका विशेषज्ञ डाक्टरसँग भिडिओ कलमार्फत परामर्श लिन सकिनेछ ।

‘ओपन प्लेटफर्म’ (खुला माध्यम) को रुपमा रहने यो सेवामा नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरू स्वेच्छिक रुपमा जोडिन सक्ने बताइएको छ । परामर्श सेवाका लागि टिकेट लिइसकेपछि बिरामीहरूले सम्बन्धित विशेषज्ञ डाक्टरलाई सोझै भिडिओ कल गर्न सक्नेछन् । अनलाइनबाटै टिकेट लिन सकिने व्यवस्था मिलाइएको हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले जानकारी दिए । हाललाई टिकेट शुल्क ५०० रुपैयाँ तोकिएको छ । 

डाक्टरसँग परामर्श सेवा लिनु पूर्व सेवाग्राहीहरूले आफ्नो नाम, उमेर र स्वास्थ्य समस्या उल्लेख गरी आफ्नो प्रोफाइल बनाउनुपर्नेछ । यसका साथै आफ्नो प्रोफाइलमा ल्याब रिपोर्ट लगायत आफ्नो स्वास्थ्य समस्या सम्बन्धी कागजातहरू अपलोड गर्न समेत सकिन्छ । हाललाई हाम्रो हेल्थमा २० जना विशेषज्ञ डक्टरहरू आवद्ध भइसकेको कम्पनीले जनाएको छ । दुई महिनाको परीक्षण पश्चात यो सेवा पूर्ण रुपमा सञ्चालनमा आउनेछ । 

यसमा सूचिकृत डाक्टरहरू आफ्नो अनुकूलता तथा फुर्सदको समयमा हाम्रो हेल्थको टेलिमेडिसिन सेवाका लागि लाइभ आउन सक्नेछन् । तर यसमा डाक्टरको समय प्रि(बुकिङ गर्न सकिने सुविधा भने हाललाई उपलब्ध छैन । सम्बन्धित डाक्टरको प्रोफाइलमा गएर कुन समयमा अनलाइनमा उपलब्ध हुने अथवा नहुने कुराको जानकारी लिन सकिनेछ । 

कुन डाक्टरसँग परामर्श लिने भन्ने कुरा बिरामीहरू स्वयम्ले तय गर्नुपर्ने कम्पनीले जनाएको छ । डाक्टर फरक परेको अवस्थामा सोही टिकेट प्रयोग गरी सम्बन्धित अर्को डक्टरसँग परामर्श लिन सकिने व्यवस्था मिलाइएको छ । यो फिचर प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो मोबाइलमा रहेको हाम्रोपात्रोको मोबाइल एप अपडेट गर्नुपर्ने हुन्छ ।  

‘काठमाडौबाहिर रहेका बिरामीहरूलाई सामान्य फलोअप तथा विशेषज्ञ डाक्टरसँगको परामर्शका लागि आइरहनुपर्ने बाध्यतालाई अन्त्य गर्न यो सुविधा सञ्चालनमा ल्याएका हौँ,’ कम्पनीका संस्थापक उप्रेतीले भने । उनका अनुसार बुबाआमा नेपालमा र छोराछोरी विदेशमा रहेको अवस्थामा दुवै तर्फबाट एकसाथ डाक्टरसँगको परामर्शमा जोडिन सक्ने सुविधा समेत आगामी दिनमा ल्याउने तयारी छ ।

परामर्श पश्चात डाक्टरले एपबाटै लिखित प्रेस्क्रिप्सन तथा औषधी सिफारिस गरिदिनसक्ने व्यवस्था मिलाइएको छ । सबै कलमा ‘इन्ड टु इन्ड इन्क्रिप्सन’ ९गोपनीयताका हिसाबले सुरक्षित० को फिचर रहेको भन्दै संस्थापक उप्रेतीले सेवाग्राहीले भिडिओ अफ गरेर अडियोमा मात्रै कुरा गर्न समेत पाउने बताए ।

प्रतिक्रिया दिनुहोस