गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको छ : अर्थमन्त्री जनार्दन शर्मा

सफल खबर संवाददाता

आइतबार, १४ कार्तिक २०७८, १८ : ५३
गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको छ : अर्थमन्त्री जनार्दन शर्मा

हेटौँडा । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताएका छन् ।

आइतबार हेटौंडामा आयोजित वाईसीएल हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धनको सरकारले जनउत्तरदायीत्व बहन गर्दै जनताको हित हुने प्रकृतिका योजनाहरु प्रस्तुत गरेको बताए ।

सरकारले छोटो समयमा प्रतिस्थापन विधेयक मार्फत् सरकारले युवा, महिला, विद्यार्थी, बालबालिका, घाइते, अपाङ्ग, शहीद परिवार र गरिब जनताको मुद्धामा थोरै भएपनि बजेट विनियोजन गरेर सम्बोधन गर्ने काम गरेको मन्त्री शर्माले बताए । उनले देशको अर्थतन्त्र ऋणात्मक भइरहेको बखत हालै आएको प्राकृतिक विपत्तीले थप जटिलता थपिदिएकाले अर्थतन्त्रमा थप नकारात्मक असर परेको बताए ।

हालै आएको बेमौसमी बाढीका कारण देशको जिडिपीमा ७ प्रतिशत योगदान रहेको कृषितर्फको धान खेति नष्ट हुँदा देशको अर्थतन्त्रसँगै गरिब किसानको जिविकामा समेत जटिलता थपेको उनले बताए ।

प्राकृतिक प्रकोपबाट धान खेती नष्ट भएका ती कृषकहरूको पिडा सम्बोधन गर्ने उद्देश्यका साथ सरकारले राहत प्याकेजसमेत ल्याएको र चाँडै नै कृषकहरुलाई उपलब्ध गराउने उनले बताए । राहत उपलब्ध गराउनका लागि सरकारले २ प्रकारको प्याकेज प्रस्तुत गरेको उनको भनाइ छ । सरकारले १० कठ्ठा सम्म धान खेति नष्ट भएका कृषकहरुलाई ६५ प्रतिशत र १० कठ्ठा भन्दा धान खेति नष्ट भएका कृषकहरुलाई ३० प्रतिशतका दरले राहत उपलब्ध गराउने सरकारको तयारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस