तिनै तहको निर्वाचन एकै पटक गर्दा राष्ट्रको सम्पति जोगिन्छ : माधवकुमार नेपाल

सफल खबर संवाददाता

शुक्रबार, १२ कार्तिक २०७८, १६ : २७
तिनै तहको निर्वाचन एकै पटक गर्दा राष्ट्रको सम्पति जोगिन्छ : माधवकुमार नेपाल

काठमाडौं । नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले तिनै तहको निर्वाचन एकै पटकमा गर्दा राष्ट्रको सम्पति जोगिने बताएका छन ।  पार्टी कामको शिलशिलामा पोखरा पुगेका अध्यक्ष नेपालले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकैपटक गर्न सके खर्च कम हुने बताएका हुन । उनले एकैपटक तिनै तहको निर्वाचन गराउन सके राष्ट्रको सम्पति जोगिने बताए  ।

उनले भने – ‘मिल्छ कि मिल्दैन छलफल गर्नुपर्ला । यो सबै चुनाव एकैचोटी गरिदिनुपर्छ कि क्या हो लाग्छ । लोकल चुनाव, प्रदेश सभा, प्रतिनिधि सभाको चुनाव पनि । खर्च पनि कम हुन्थ्यो । राष्ट्रको सम्पति पनि, निर्वाचनको खर्च पनि धेरै जोगिन्थ्यो होला । यसमा कुनै कानुनी अड्चन छ कि छैन थाहा छैन । तर मेरो दिमागमा के आइराछ भने एकचोटी एउटा चुनाव, अर्कोचोटी गर्दाखेरी धेरै खर्च हुँदोरहेछ । त्यसको कानुनी जटिलता केही छ कि, होइन भने त्यही बाटोमा किन नजाने भन्ने कुराहरु मलाइ लागेको छ ।’

अध्यक्ष नेपालले आफ्नो समुह छाडेर एमालेमा बस्ने नेताहरुको हरिबिजोग हुने बताए । एमालेमा कुनै नीति र विधि नभएको उल्लेख गर्दै उहाँले त्यहाँ रहनेहरु नीजि कम्पनिको सदस्यका रुपमा रहने जिकिर गरे । केपी ओलीप्रति बफादार नहुनेहरुको हरिबिजोग हुने उनको तर्क छ । उनले भने – ‘मैले पटक पटक भनेको थिए, बालुवा पेलेर तेल निस्कनेवाला छैन । आज सुधारौला भनेर गएका साथीहरुको हरिबिजोग भइरहेको छ । देखिरहनु भएको छ । उहाँको(ओली) आफ्नै नीति र विधि छ । त्यसमा बसेका मान्छे उहाँको नीजि कम्पनिका सदस्यका रुपमा रहन बाध्य हुनेछन् । त्यो कुनै सामुहिकताको सिद्धान्तबाट चल्दैन । त्यसले कमिटी प्रणालीलाई पालना गर्ने छैन । त्यहाँ केपी ओलीप्रति बफादार हुनेसँग बस्न पाइन्छ । बफादार भएन भने उसको हरिबिजोग हुनेछ ।’

उनले एमाले छाड्नेहरुको भविष्य सुरक्षित रहने पनि बताए । एमालेमा बस्नेहरुको भविष्य नभएको भन्दै उनले अब एमालेलाई टर्च बालेर खोज्नुपर्ने स्थिति आउने बताए । ओलीसँगै एमालेपनि सकिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस