जलवायु प्रविधिको प्रवद्र्धनको विषयमा नेपालले आफ्नो अडान राख्नुपर्छ : धर्मराज उप्रेती

सफल खबर संवाददाता

विहीबार, ११ कार्तिक २०७८, १३ : ५०
जलवायु प्रविधिको प्रवद्र्धनको विषयमा नेपालले आफ्नो अडान राख्नुपर्छ  : धर्मराज उप्रेती

काठमाडौं । यही कार्तिक १४ देखि २६ गतेसम्म स्कटल्याण्डको ग्लास्गोमा संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको सम्मेलन हुने भएको छ । सम्मेलनको पूर्वसन्ध्यामा इन्टरगर्भमेण्टल प्यानल अन क्लाईमेट चेञ्ज (आइपिसीसी) ले प्रतिवेदन सार्वजनिक गर्दै अहिलेकै अवस्थामा १ दशमलव ५ डिग्रि विश्व तामपान कायम गर्न असम्भव रहेको जनाएको छ । पेरिस सम्झौताअनुसार २०१० को स्तरमा तापमान झार्नका लागि धनी राष्ट्रहरुले आफ्नो कार्वन उत्र्सजनलाई ४५ प्रतिशतमा झार्नुपर्ने सम्झौता पनि कार्यान्वयन हुन नसकेको र कार्वन उत्र्सजन चुनौतिपूर्ण बन्दै गएको भन्दै प्रतिवेदनमा पक्ष राष्ट्रहरुलाई आफ्नो प्रतिवद्धतालाई पुनरावलोकन गर्न सुझाव  दिइएको छ । पेरिस सम्झौता कार्यान्वयन नभए यो शताब्दीको अन्त्यसम्ममा औषत तापक्रम ३ डिग्री भन्दामाथि पुग्ने जलवायु सम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी) प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा विज्ञ सहितको टोली पनि सहभागी हुँदैछ । सम्मेलनमा नेपालले पेरिस सम्झौता कार्यान्वयको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाली प्रतिवेदन लेखन समितिमा समेत रहेका जलवायुविज्ञ  डाक्टर धर्मराज उप्रेतीले जलवायुजन्य विपद्ले निम्त्याएको हानी नोक्शानीको क्षतिपूर्ति, जलवायु वित्तको परिचालन, विश्व तापमान १.५ डिग्री भन्दा बढी हुन नदिने, जलवायु परिवर्तनका कारण महिला र सिमान्तकृत समुदायले भोगिरहेको समस्या सम्बोधन तथा जलवायु प्रविधिको प्रवद्र्धधन लगायत विषयमा नेपालले आफ्नो अडान राख्नुपर्ने बताए । उनले सम्मेलनमा भाग लिन बिहीवार त्यसतर्फ जाँदै छन । प्रश्तुत छ सम्मेलनमा नेपालले उठाउनुपर्ने विषय तथा जलवायुजन्य विपद्बाट नेपालले भोग्नु परेको हानी नोक्शानी बारे  डाक्टर उप्रेतीसँग गरेको कुराकानीको संक्षिप्त अंश । 

प्रश्न : जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघको महासन्धिका पक्ष राष्ट्रहरुको सम्मेलन स्कटल्याण्डको ग्लास्गोमा हुँदैछ, यो सम्मेलनमा नेपालले के कस्ता मुद्दा उठाउनु पर्छ ?

उत्तर  :  जलवायु परिवर्तनले सिर्जित गरेको हानी नोक्शानीको क्षतिपूर्तिको लागि विश्व समुदायसँग आफ्नो कुरा राख्ने, दोस्रो २०१५ मा भएको पेरिस सम्झौताअनुसार हन्ड्रेड बिलियन (सय अर्ब) विश्व जलवायु कोषबाट जुन परिचालित हुने भनिएको छ । त्यो परिचालित हुने तरिका, त्यो परिचालितलाई सजिलो बनाउने र गरिव देशले त्यो वित्तलाई ल्याएर आफ्नो देशमा जलवायु परिवर्तनको अनुकुलन र न्यूनिकरणका योजनाहरु जुन बनाएका छन् । त्यसलाई कार्यान्वयनमा लैजान सकोस् । अर्थात् नेपालले पनि एन्डिसी बनाएको छ । त्यो एन्डिसी कार्यान्वयनको लागि २४ बिलियन अमेरिकी डलर चाहिन्छ भनेको छ । त्यो रकम कहाँबाट आउँछ ? नेपालीलले आफैँ त गर्न सक्दैन । त्यस्तो रकम विश्व समुदायबाट आएर नेपालले पनि केही हिस्सा पाउँछ, त्यो हिस्सालाई विश्व समुदायले त्यो बाटोलाई सजिलो बनाइदिनुपर्यो । तेस्रो भनेको अहिले लस एण्ड ड्यामेज (ढिलो र क्षति) जस्तो भइरहेको । जस्तो हिजो÷अस्ति वर्षा भयो, त्यसपछि पनि ठूलो हावाहुरी, देशभर नै चल्यो र पानी पर्यो, धान भित्र्याउने बेलामा सबै धान पल्टिएको अवस्था छ । त्यसको क्षति धेरै हुने आँकलन गरिएको छ ।  एउटा यो क्षति, अर्को भनेको नसोचिएको तरिकाले हुने क्षति, मेलम्चीको क्षति जुन भयो, मनाङको क्षति, जुन हामीले कल्पना नै गरेका थिएनौँ । त्यस्तो खालको हानी नोक्शानी र यही वर्ष पनि हामीले हेर्ने हो भने १८ वटा पक्की पुलहरु, जुन इन्फास्ट्रक्चर छ, भौतिक संरचना छ । त्यो लगायत अरु भौतिक संरचना पनि वर्षामा ध्वस्त भए । त्यसको क्षतिपूर्ति र अरु कुनै विपद्जन्य क्षतिपूर्तिको लागि नेपालले आफैँले धान्न सक्दैन । किन सक्दैन भने, २०१० देखि २०२० सम्मको आँकडालाई हामीले केलाएर हेर्ने हो भने ४० अर्ब रुपैयाँ नेपाललाई हानी नोक्शानी भएको छ । यही जलवायु परिवर्तनको कारणले ८ लाख संरचनाहरु ध्वस्त भएका छन् यही १० वर्षमा । यो १० वर्ष नेपालको लागि एकदमै पीडादायक भयो । र यो अझै बढ्नेवाला छ । यो बढ्दै जाँदा नेपालले त्यत्रो धान्न सक्ने÷नसक्ने ? ४० अर्ब प्रत्येक वर्षामा वा जलवायुजन्य विपद्ले नेपालले हानी नोक्शानी व्यहोरीरहेको छ । आफैँ गरिब देश, त्यसमा पनि जलवायु परिवर्तनको चपेटामा परेर यसले धान्न सक्दैन । धान्न नसक्ने हुनाले हामीले उठाउनु पर्ने विषय भनेको हाम्रो लस एण्ड ड्यामेज, हाम्रो क्षति हाम्रो नोक्शानीको क्षतिपूर्ति, धनी देशहरुले दिनुपर्छ भन्ने कुरा पनि नेपालले उठाउनु पर्छ ।

प्रश्न : नेपालले क्षतिपूर्तिको दाबी गर्न सक्यो त ? अघिल्ला वर्षहरुमा नै नेपालको प्रश्तुती कस्तो थियो ?

उत्तर  : नेपालले यो नेबुसेसन्स प्रोसेसमा भाग लिइरहेको छ । यसलाई राम्रै प्रगती मान्नुपर्छ । नेपालले आफ्नो नीति नियम, जुन पेरिस सम्झौताअनुसार गर्नुपर्ने कामहरु जस्तो, एन्डिसीको आयोजना २०२० मै गर्नुपर्ने, नेपालले गर्यो भनेपछि त्यो अन्तर्राष्ट्रिय लेभल (स्तर) मा उठाउनुपर्ने विषयमा नेपालले उठाएको देखिन्छ । विश्व जलवायु वित्त बनाएको छ । कोरियामा यसको मुख्य अफिस छ । त्यो वित्त जुन हन्ड्रेड बिलियन (सय अर्ब) अमेरिकी डलर गरिब देशमा परिचालन हुने भनेको छ । त्यो ल्याउनका लागि हुने मेकानिजममा केही काम भएको छ । जस्तो अर्थमन्त्रालयमा यसको संयन्त्र गठन भएको छ । सबै मन्त्रालयको प्रतिनिधि रहने गरी एक खालको निर्णय गर्ने समिति बनेको छ । वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले त्यही वित्त अन्तर्गतको एउटा नयाँ प्रोजेक्ट पायो पनि र अरु संस्थाहरु पनि त्यसमा आवद्ध हुने प्रक्रियामा गइराखेका छन् । काम केही अघि बढेको छ तर अझै पनि त्यो फलामको चिउरा जस्तै भएको जस्तो छ । त्यहाँ जानु, त्यहाँबाट पैसा तान्नु साह्रै नै चुनौति पूर्ण भएको र खास गरी नेपाल जस्तो देश, जसमा जति त्यस्ता शर्तहरु छन् । त्यो शर्त पूरा गर्ने हाम्रो संगठनात्मक संरचना अझै पनि बलियो नबिनसकेको अवस्थामा अहिले भएको मौजुदा संरचना छ । त्यसअन्तर्गत पनि नेपालले त्यो वित्त पाउनुपर्छ भन्ने कुरालाई पनि उठाउनुपर्छ ।

प्रश्न : नेपालले व्यहोर्नुपरेको क्षति र विश्वका अरु देशहरुले व्यहोर्नुपरेको क्षतिको तुलना भएको छ ?

उत्तर  : अहिले के देखियो भने नेपालले क्षति धेरै व्यहोरेको छ । जस्तो १० वर्षमा ४० अर्ब रुपैयाँ नेपालमा जलवायु जन्य विपद्बाट हानी नोक्शानी भएको छ । हाम्रा जीविकोपार्जनका क्षेत्र छन् । कृषि, वन, पानी क्षेत्र, जलाधार क्षेत्र, हाम्रो इन्फास्ट्रक्चर (पूर्वाधार) जति पनि हामी बनाउँछौँ भौतिक संरचना, सडक बनाउँछौँ । यस वर्ष सडक बनायौँ । त्यही वर्ष सडक बाढीले बगाएर लैजान्छ । पहिरोले नोक्शान गर्दछ । अरुको तुलनामा नेपालको भू बनावटले गर्दा हामी बढी असरमा परिरहेका छौँ । जस्तो हिमाल अहिले पग्लिरहेको अवस्था । हिम नदीहरु बिष्फोट हुने अवस्था पनि विभिन्न अध्ययनले देखाएको अवस्था छ । हिमाल पग्लियो, हिमालको जुन लाइन छ, हिम रेखा छ । जहाँसम्म हिउँ पर्दथ्यो भन्ने छ, त्यो अलि माथितिर सर्दै गइरहेको अवस्था छ । हाम्रो वाटर टावर (पानीको श्रोत), हाम्रो पानीको भण्डार हो । त्यो भण्डारमै क्षति भयो, त्यसको एउटा असर हुन्छ । दोस्रो र तेस्रो असर भनेको तल्लो तटीय क्षेत्रमा पानीका मुहान सुक्ने भए । पानीका मुहान सुकेपछि हाम्रो जीविकोपार्जन पानीकै लागि संघर्ष गर्ने भयौँ, एउटा त्यो पाटो भयो । दोस्रो पाटो भनेको हाम्रो सुन्दरता भनेको हिमाल, हिमालको देश भनेर भन्छौँ, हिउँ नै पग्लियो भने के हुन्छ । यो अर्को हामीलाई चिन्ताको विषय हो । तेस्रो भनेको हाम्रो नदी प्रणालीहरु हिमालबाट बग्ने नदीहरु नै तल तराईसम्म जान्छन् । तराईमा हाम्रो उर्वरा भूमि, तराई उर्वराभूमिमा त्यहाँबाट आउने बाढीले वर्षेनी क्षति पुर्याएको अवस्था छ । हाम्रो दुई वटा पाटोमा एउटा क्षतिको न्यूनिकरणको लागि गर्नुपर्ने कामहरुमा पनि हामीले धेरै काम गर्नुपर्ने बाँकी जस्तो देखिन्छ । दोस्रो टेक्नोलोजी (प्रविधि) मा, जस्तो कुन ठाउँमा कति पानी पर्यो ? त्यसले कस्तो खालको क्षति ल्याउँछ भन्ने पूर्व सूचना प्रणाली पनि प्रभावमा आधारित पूर्व प्रणालीलाई बिस्तार र त्यसलाई समुदाय स्तरसम्म लैजाने र अर्को ठाउँ आधारित बनाउने, जस्तो डडेल्धुरामा अहिले मनसुन सकिएपछि धेरै ठूलो वर्षा भएको अवस्था छ । त्यो ठूलो अवस्थाको आँकलन डडेल्धुरा जिल्लामा, सुदूरपश्चिमको यो क्षेत्रमा यति हुँदैछ र यसको असर यति हुनसक्छ भनेर पनि हामीले उजागर गरिदियौँ भनेदेखि समुदाय र सम्बन्धित जुन निकाय हुनुहुन्छ, विपद् व्यवस्थापनको लागि खटिएको उहाँहरुलाई काम गर्न सजिलो हुन्छ ।

प्रश्न : पूर्व सूचना प्रणालीमा हामी कमजोर छौँ ?

उत्तर  : पूर्व सूचना प्रणालीको विकास हाम्रोमा नभएको होइन, भएको छ । तर त्यसलाई अब प्रभावमा आधारित बनाएर लैजाने र समुदायसम्म सूचनाको प्रभावको रुपमा अझै धेरै काम गर्नुपर्ने देखिन्छ । त्यसको लागि भनेको ७५३ वटै स्थानीय निकाहरुमा स्थानीय आपत्कालीन केन्द्रको व्यवस्था गर्ने भन्ने कुरा ऐनमा नै उल्लेख छ । त्यो आपत्कालीन केन्द्रहरु सबै ठाउँमा बनेको अवस्था छैन । बनेको भएपनि त्यो क्षमता अभिवृद्धि गर्नुपर्ने देखिएको छ । कुन ठाउँमा कति पानी पर्दैछ भन्नेकुरा काठमाडौंबाट भनेर मात्रै स्थानीय समुदायले पत्याउँदैनन् । त्यसकारण त्यहाँको स्थानीय निकायले नै यति पानी पर्दैछ, यो नदीमा यति बाढी आउँदैछ भन्ने कुरा त्यहाँको स्थानीय निकायले त्यो सूचना प्रवाह गर्यो भने विश्वासिलो हुन्छ, मान्छेले त्यसलाई रेस्पोन्स (प्रतिक्रिया) पनि गर्दछन् । नत्र ध्यान दिँदैनन् । त्यसैले प्रभावमा आधारित एउटा पाटो र दोस्रो अहिलेको जतिपनि हामीसँग स्टेस्नहरु छन्, वर्षा नाप्ने, बाढी नाप्ने स्टेस्नहरु छन्, त्यो पर्याप्त छैन । त्यसैले एउटा हिमाल तिर पनि बिस्तार गर्नुपर्ने देखियो । अर्को समुदाय लेभल (सतह) सम्म त्यसको कम्युनिकेशनको च्यानल (सूचना प्रवाहको सिस्टम) पनि बिस्तार र विकास गर्नुपर्ने देखिन्छ ।

प्रश्न : जलवायु परिवर्तनजन्य क्षतिको क्षतिपूर्तिको लागि नेपाल र नेपाल जस्ता देशहरुलाई क्षतिपूर्ति दिने सहमति भएको थियो, तर कार्यान्वयन भएको हामीले थाहा पाएका छैनौँ, कार्यान्वयनको अवस्था कस्तो हो ?

उत्तर  : यसपालिको कपमा नेपाललगायत धेरै देशले यहीँनेर भारतले पनि यही कुरामा छलफल गरिहरेको थियो । अरु जति पनि गरिब देशहरु छन् । उनीहरुले एउटै एजेण्डा लस एण्ड ड्यामेज, हानी र नोक्शानीको क्षतिपूर्ति गरिब देशले पाउने जुन प्रक्रिया छ । त्यसलाई सरलीकृत गर्ने र विश्व जलवायु वित्तबाट पाउने रकमलाई कसरी सरलीकृत गरेर देशले पाउँछ । त्यसमा पनि पुनर्विचार गर्नुपर्ने कुरामा अलि बढी उठाउने भन्ने कुरा भएको छ । तर ठ्याक्कै त्यहाँ सहमति भयो, त्यसपछि कार्यान्वयनको पक्षमा अहिले नै कार्यान्वयन भएर सबै देशहरुले पाइसकेको भन्ने अवस्था छैन ।

प्रश्न : हामीले तयारीको कुरा गर्ने हो भने, जलवायु, जनजीवन क्षति नोक्शानीको क्षतिपूर्ति दिने भनिएको विषयलाई नेपालले आफ्नो तर्फबाट कसरी भन्ने कुरामा पनि एक्सरसाइज (जानकार) हुन जरुरी छ नि, हामी कसरी दाबी गर्छौं भन्ने कुरा केही त्यस्तो भएको छ सरोकारवाला निकायहरुको ?

उत्तर  : क्षति र नोक्शानीको फ्रेमर (प्रकार) के हो त नेपालको ? हामीले कस्तो अवस्था भयो भने कुन क्षतिलाई जलवायु जन्य क्षति हो । यो क्षतिलाई अन्तर्राष्ट्रिय स्तरमा उठायौँ भने यो वित्त हामी पाउँछौँ भन्ने कुरामा काम शुरु भएको छ । तर फाइनल भएको अवस्था छैन । शुरु भएको छ भन्ने सुन्नमा आएको छ र हामीले अब गैरसरकारी संस्थाको तर्फबाट केही काम भएको देखिन्छ । उदाहरणको रुपमा जस्तो एउटा यसमा पोजिशन पेपर (तयारी पत्र) निकालेको अवस्था छ । र कस्तो खालको क्षति इकोनोमिक (आर्थिक) क्षति र नन इकोनोमिक लस (वैध आर्थिक क्षति) के हुन् र कस्ता खालका क्षतिहरुलाई हामीले अन्तर्राष्ट्रिय लेभल (स्तरमा) मा उठाउन सक्छौँ भन्ने कुराको एउटा फ्रेमवर्क (ढाँचा) नेपालले चाँडो भन्दा चाँडो सार्वजनिक गर्ने भन्ने कुरा सुन्नमा आएको छ । त्यो चाँडै सार्वजनिक भएपछि त्यही फ्रेमवर्क (ढाँचा) को आधारमा हामीले अन्तर्राष्ट्रिय समुदायमा वा संयुक्त राष्ट्रसंघको महासमिति अन्तर्गत जहाँ क्लिन (पूरा) गर्नुपर्ने हो । त्यहाँ त्यो अन्तर्गत हामीले क्षतिपूर्ति चाहियो भनेर भन्न सक्छौँ । अहिलेको अवस्थामा हामीले क्षतिपूर्ति चाहियो भनेर हामी भन्छौँ । तर कसरी दिने भन्ने कुराको तरिका छैन ।

प्रश्न : जलवायु परिवर्तनको असर कम गर्नको लागि गनुपर्ने अनुकुलताका कामहरु नेपालले के–के गरेको छ, के–के गर्न बाँकी छ ?

उत्तर  : नेपालले राष्ट्रिय अनुकुलन योजना बनाउँदैछ । र कपमा जानु भन्दा अगाडि नै यही महिनाको अन्त्य सम्ममा त्यो योजना बाहिर आउँदैछ । नेपालले २०१९ मा दुई वर्षअघि राष्ट्रिय जलवायु नीति बाहिर ल्याएको छ र जसमा ८ वटा एरिया (क्षेत्र) हरु, जस्तो कृषि, वन, जलाधार क्षेत्र, भौतिक संरचनाको क्षेत्र र कस्कटिङ क्षेत्रहरु, जस्तो जेन्डरका कुराहरुलाई पनि कसरी समाहीत गर्दै लैजाने भन्ने कुराको कम्प्रेन्सीप नीति पनि बनेको छ । २०२० मा राष्ट्रिय प्रतिवद्धता पत्र पनि तयार भएको छ । नेपाल जस्तो देश इमिसन घटाउने मात्रै, हरित गृह ग्याँसको उत्सर्जन घटाउने मात्रै हाम्रो ठूलो एजेण्डा होइन । हाम्रो एजेण्डा भनेको हाम्रो समुदाय गरिब छ, जलवायु परिवर्तनको असरको चपेटामा परेको छ । त्यो चपेटामा परेको समुदायलाई कसरी उकास्ने भन्ने कुरा अनुकुलनका जुन टेक्नोलोजीहरु छन् । त्यो समुदायमा लैजाने र ७५३ वटै स्थानीय निकायमा जलवायु परिवर्तन र लैंगिक समाहीत सहितको योजना बन्नुपर्ने र त्यो योजना कार्यान्वयनमा जाने भन्ने कुरा पनि उल्लेख भएको हुनाले अहिले बनेको राष्ट्रिय प्रतिवद्धता पत्र र एन्डिसी ५ वर्षको बनेको हो । २०२५ मा फेरि रिभाइज हुन्छ । हामीले मात्रै होइन, संसारका सबै पक्ष राष्ट्रले यो प्रत्येक ५–५ वर्षमा अपडेट गर्दै लैजानु पर्छ । हामीले के काम गर्यौं र कति प्रगति गर्यौं भन्ने कुरा प्रत्येक वर्ष जानकारी गराउनु पर्छ महासन्धिमा । यति गरिसकेपछि मात्रै हामीले आफ्नो कमिटमेण्ट पूरा गरेको जस्तो हुने, विश्व समुदायबाट पाउने रकम पनि पाउने हो । त्यसले गर्दा समग्रमा नीति बनेका छन् । योजना बनेका छन् र संस्थागत संरचनामा पनि राष्ट्रिय स्तरमा पनि जस्तो वन तथा वातावरण मन्त्रालय अन्तर्गत जलवायुु परिवर्तन महाशाखा छ । गृह मन्त्रालय अन्तर्गत विपद् प्राधिकरण छ । तर तल त्यही लेभल (स्तर)मा, त्यही अण्डरस्ट्याण्डिङ (सुझबुझ) मा हामीले ऐन नियममा भने जस्ता संरचनाको क्षमतापूर्ति, बिस्तार र विकासमा जोड दिनु आवश्यक छ ।

प्रश्न : जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघको महासन्धिका पक्ष राष्ट्रहरुको सम्मेलनमा नेपालले १.५ डिग्रि तापक्रमलाई बढ्न दिनु हुँदैन भन्ने प्रश्ताव राखेको थियो, १.५ डिग्रिदेखि २ डिग्रिभन्दा तल तापक्रम राख्ने प्रश्ताव थियो, यो सम्भव छ ?

उत्तर  : १.५ डिग्रि नेपालले अडान राख्यो । अहिले १ डिग्रि प्लसमा विश्व तापक्रम पुगेको भन्ने आँकलन गरिएको छ । अहिले जतिपनि एन्डिसीहरु खास गरेर एउटा प्रतिवद्धता पत्रहरु, महासन्धिमा जति बुझाएका छन्, त्यो सबैको विश्लेषण गर्दा विश्व तापक्रम १.७ डिग्रि पुग्छ भन्ने आँकलन देखिएको छ । अहिलेको विषयवस्तु भनेको नै यही हो । सबैभन्दा ठूलो के हो भने हामीले भन्यौँ १.५ डिग्रि, तर त्यो हामी राख्न सक्छौँ त अहिलेकै परिवेशमा ? त्यो हुनाले अहिलेको अवस्थामा हामीले कम्तिमा पनि २०१० भन्दा अगाडिको जुन इमिशन लेभल (स्तर)  थियो । त्यसलाई कति प्रतिशतमा २०३० सम्म लगभग ४५ प्रतिशत नै भनेको छ । २०५० मा हामीले नेट जिरोमा झार्न सकेनौँ भने यो सम्भव छैन, २०५० को रोडम्याप (मार्गचित्र) सबैलाई छ यो सम्झौताअन्तर्गत, २०३० सम्म कति प्रतिशतमा झार्ने ? र २०५० मा नेट जिरोमा झार्ने, भन्ने कुराको सहमति छ । तर त्यो सहमति र बाटोमा जानको लागि अलिकति केही देशहरुले नेट जिरो सम्भव छैन, नेट नेगेटिभ तिर लैजाने हो कि भन्ने कुरा उठाइरहेका छन् । नेट जिरो लैजानको लागि उनीहरु किन सहमत छैनन् भन्दा उनीहरुको उद्योग धन्दा हटाउनु पर्यो । आफ्नो देशबाट कोही पनि उद्योगधन्दा नै हटाउन चाहँदैनन् । विकासलाई त कसैले घटाउन चाहँदैन । त्यो पाटो पनि छ । त्यसैले अहिले उद्योगधन्दा, जति कलकारखाना, जे जस्तो हाम्रो विकास छ । त्यसलाई जस्ताको त्यस्तै राखेर इमिशन लेभललाई घटाउने कुरामा, जस्तो नवीकरणीय उर्जाको बिस्तार, सोलार सिस्टमको बिस्तारदेखि लिएर अन्य थुप्रो कुराहरु । नेपालमै नवीकरणीय उर्जा भन्दा विद्युत चुलो, फोहोरबाट निकालिने उर्जादेखि लिएर पेट्रोल डिजोलको जुन निर्भरता छ त्यसलाई एकदमै घटाएर हामी जस्तै अरु देशले पनि घटाएर लैजाने हो र आफ्नो कमिटमेण्ट (प्रतिवद्धता) मा इमान्दार हुने हो भने त्यो सम्भव छ । सबै देशले यो कमिटमेण्ट (प्रतिवद्धता) अनुसार जान सकेनन् भने खतरा हुन्छ भनेर यही विषय यसपालिको कप २६ को पेचिलो विषय बन्ने अवस्था छ । यसमा छलफल हुन्छ र के कस्तो निर्णय हुन्छ त्यो भनि हाल्नेछौँ ।

प्रश्न : जलवायु परिवर्तनजन्य विपद्हरुका घटनाहरुको बारेमा सूचना सम्प्रेषण कस्तो छ ? अन्तरदेशीय सूचनाको अभ्यास कत्तिको छ ? 

उत्तर  : यो अर्को चुनौतिपूर्ण छ । जस्तो चीनको हाम्रो नेपाल तटीय क्षेत्रमा भोटेकोशीको माथि बाढी आयो । त्यो जलाधार क्षेत्रमा बाढी आयो भने चीनले एउटा सूचना, एउटा चिठी दिन्छ । यहाँ धेरै पानी परेको छ, तपाईहरु सतर्क रहनुहोस् । त्यो भन्दा बाहेकको अन्य सूचना अन्तरदेशीय त्यो सूचनाको आदानप्रदान छैन । यहीँ नेर भारतमा सबै सिस्टम छ, कति पानी पर्छ, कति बाढी आउँछ, अक्टूबर १८ को नै कुरा गर्ने हो भने सुदूरपश्चिम प्रदेशको पारी उत्तरप्रदेशमा यति पानी पर्दैछ भनेर (चेतावनी) नै रेड अलर्ट नै उसले जारी गर्यो । त्यो सूचना उनीहरुले पाए तर त्यो हामीलाई शेयर भएको अवस्था छैन । नेपालले त्यो पाएको अवस्था छैन । नेपालको संयन्त्रले पनि त्यो सूचना पायो भने नेपालले त्यसलाई आफ्नो समुदायमा परिचालन गर्न सक्ने अवस्था हुन्थ्यो । त्यो एउटा चुनौति नेपालको राजनीतिक संयन्त्रमा भारत र चीन सरकारसँग राख्नुपर्ने विषय भनेको नै ट्रान्सपरेन्सी इन्फरमेशन सिस्टम (स्थानान्तरण सूचना प्रणाली) लाई कसरी व्यवस्थित गर्ने ? कसरी त्यो सूचना पाउने र हामीले कसरी दिने ? भन्ने कुरा अहिले चुनौति छ र त्यसलाई सहज गर्दै लैजानु पर्छ भनेर हामी बारम्बार भनिरहेका छौँ र विषय उठान पनि गरिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस