तनहुँमा ठूला दलका नेतृत्वमा महिला न्यून

सफल खबर संवाददाता

विहीबार, ११ कार्तिक २०७८, ११ : ५५
तनहुँमा ठूला दलका नेतृत्वमा महिला न्यून

तनहुँ । दुई मुख्य ठूला दल नेपाली कांग्रेस र  नेकपा (एमाले) का वडा अधिवेशन हालै सम्पन्न भयो ।  कांग्रेस तनहुँको दशवटै पालिका स्तरमा पनि अधिवेशन सम्पन्न भइसक्यो भने  एमालेको पालिका अधिवेशन सम्पन्न हुने चरणमा छ । एमाले तनहुँले ६ पालिकामा अधिवेशन सम्पन्न गरेको छ भने चार पालिकामा अधिवेशन हुन बाँकी छ । 

ती दलका नेतृत्वमा महिलाको सङ्ख्या भने न्यून छ । कांग्रेसको पालिका तहमा महिलाको नेतृत्व शून्य छ भने  एमालेको एक पालिकामा महिलाले नेतृत्व भएको छ । दश स्थानीय तहमध्ये आँबुखैरेनी गाउँ कमिटीको अध्यक्षमा मीना अधिकारी अध्यक्ष चुनिएका छन् ।  कांग्रेसको भने दश वटै पालिकामा महिलाले नेतृत्व गर्ने अवसर पाएका छैनन् । 

एमालेको  म्याग्दे, ऋषिङ, घिरिङ र देवघाट गाउँ कमिटीको अधिवेशन हुन बाँकी छ । ती स्थानीय तहमा पनि महिला नेतृत्वमा आउने सम्भावना एकदमै कम छ । 

चार स्थानीय तहको पदाधिकारीमा भने महिलाको प्रतिनिधित्व भएको छ । व्यास नगर कमिटीको उपसचिवमा सीता थापा पाण्डे, भानुका उपसचिवमा रुपा लामा, शुक्लागण्डकीमा उपसचिवमा विष्णुमाया ढकालले मौका पाएका छन्। 

वडा तहको अधिवेशनमा भने  एमालेका दुई महिला वडाध्यक्षमा निर्वाचित भएका थिए । जिल्लाका ८५ वडामध्ये दुई वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट शुक्लागण्डकी नगरपालिका–९ का अध्यक्षमा गीता महत र आँबुखैरेनी गाउँपालिका–२ को अध्यक्षमा सम्झना विक निर्वाचित भएका छन् । गत असोजमा सम्पन्न  कांग्रेसको महाधिवेशन अन्तर्गत जिल्ला चार वडामा महिला वडाध्यक्ष निर्वाचित भएका थिए ।

व्यास –१४ का वडाध्यक्षमा नरीमाया राना, बन्दिपुर –४ का अध्यक्षमा सीता थापा, बन्दिपुर –५ का अध्यक्षमा रीता तिवारी र ऋषिङ –१ का वडाध्यक्षमा सविना राना निर्वाचित भएका थिए । एमाले  नेतृ बसुन्धरा घर्तीले अझै पनि महिलालाई नेतृत्व दिन नचाहने प्रवृत्ति कायमै रहेको र महिलाले अवसर पाए नेतृत्व गर्न सक्षम रहेको बताइन् । “महिलालाई सहजै नेतृत्वमा आउन दिइँदैन, पुरुष प्रवृत्ति हावी छ,” उनले भनिन् । 

एमाले जिल्ला सचिव भगवती न्यौपानेले सबै पालिकाहरुमा महिलाको सक्रियता उत्साहजनक रहेको बताइन् । पुरुषवादकै कारण महिला नेतृत्वमा आउनलाई समस्या भइरहेको नेपाल महिला सङ्घका अध्यक्ष पवित्रादेवी पौडेलको भनाइ छ  । उनले भनीन्“महिलालाई हेर्ने दृष्टिकोण दोस्रो दर्जाको रहेको छ , यसलाई परिवर्तन गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस